सुदूरपश्चिम प्रदेशमा पाँच सय ६१ पशुपालन व्यवसाय

सुदूरपश्चिम प्रदेशमा पाँच सय ६१ पशुपालन व्यवसाय

धनगढी । सुदूरपश्चिम प्रदेशमा व्यावसायिक रूपमा पशुपालन गर्ने मध्यम तथा ठूला पशुपालन व्यवसायको संख्या पाँच सय ६१ रहेको छ । बिहिबार तथ्यांक कार्यालय कञ्चनपुरले बिहिबार धनगढीमा प्रदेशमा मध्यम तथा ठुला पशुपालन व्यवसायको संख्या पाँच सय ६१ रहेको व्यवसायीक पशुपालन सर्वेक्षण २०७८ सार्वजनिक गरेको हो ।


नेपालको कृषि तथ्यांकीय प्रणालीलाई सुदृढ गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा आव ०७८÷७९ मा मध्यम तथा ठूला पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण २०७८ सञ्चालन गरिएको थियो ।
सर्वेक्षणअनुसार प्रदेशमा गाईपालन व्यवसाय कम रहेको छ । सो तथ्यांक अनुसार प्रदेशमा १० गाईपालन, ४४ भैंसीपालन, तीन सय ६९ बाखा–च्याङ्ग्रापालन, ३२ भेडाभेडींपालन व्यवसाय सञ्चालनमा रहेका छन् ।


प्रदेशमा छ मासु प्रायोजनका लागि भाले सुँगुरपालन र २३ प्रजनन प्रयोजनका लागि सुँगुरबंगुरपालन व्यवसाय सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ । सो तथ्यांक अनुसार मिश्रित वर्ग अनुसार २५ गाई र भैंसीपालन, १६ बाख्रा–च्याङ्ग्रा र भेंडाभेंडीपालन र ३५ गाई–भैसी र बाख्रा–च्याङ्ग्रा–भेंडापालन व्यवसायहरु रहेका छन् । सर्वेक्षण नतिजाअनुसार गणनाको दिनमा प्रदेशमा पाँच सय ६१ पशुपालन व्यवसायहरुले जम्माजम्मी दुई हजार दुई सय ७४ गाई–गोरु, एक हजार छ सय ३० राँगा–भैंसी, २४ हजार तीन सय ८४ बाख्रा, छ सय ८२ च्याङ्ग्रा, सात हजार एक सय १३ भेडा–भेडी र नौ सय ९९ सुँगुर–बंगुरहरु पालेको पाइएको छ । सुदूरपश्चिम प्रदेशमा पशुपालक व्यवसायहरुले स्थानीय जातको नै बढी पाल्ने गरेको तथ्यांकमा उल्लेख छ । सो तथ्यांकमा भनिएको छ –‘सुदूरपश्चिम प्रदेशमा पशुपालक व्यवसायहरुले सुँगुर–बंगुरहरुबाहेक अन्य पशुहरु प्राय स्थानीय जातको नै बढी पालेको पाइएको छ ।’
यस प्रदेशमा सात वटै प्रदेशमध्ये सबैभन्दा कम उन्नत जातका गाईपालन हुने गरेको तथ्यांकले देखाएको छ । नौ सय २६ गाईपालन भएकोमा स्थानीय जातको पाँच सय ८८, जर्सी तथा जर्सी विजातीय समागमका एक सय ६८, होलिस्टिन (ठुलो गाई) एक सय ४४ र अन्य २७ रहेका छन भने भैंसी स्थानीय जातका पाँच सय १४, मुर्रा तीन सय ५२, मुर्रा बहुजातीय समागमका ११ तथा अन्य जातका २३ गरि नौ सय एक रहेका छन् ।


सर्वेक्षण नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा गाईहरुबाट औषत दुध दिने अवधिसम्म जम्मा १० लाख पाँच हजार नौ सय ८० लिटर दुध उत्पादन भएको अनुमान गरिएको छ भने चार सय ८४ दुध दिईरहेका भैंसीहरुबाट औषत दुध दिने अवधिसम्म नौ लाख ७६ हजार एक सय ५५ लिटर दुध उत्पादन भएको अनुमान गरिएको छ । जसमध्ये तीन सय २२ स्थानीय गाईहरुबाट दुई लाख २४ हजार ५३ लिटर, एक सय २७ जर्सी तथा जर्सी क्रसब्रिड गाईहरुबाट चार लाख ४३ हजार तीन सय ६४ लिटर, एक सय एक होलिस्टिन तथा होलिस्टिन क्रसब्रिड गाईहरुबाट दुई लाख ९७ हजार तीन सय ५९ लिटर र १० अन्य उन्नत जातका गाईहरुबाट ४१ हजार दुई सय चार लिटर दुध उत्पादन हुने अनुमान गरिएको छ ।
यस्तै, दुई सय ९० स्थानीय भैंसीहरुबाट चार लाख नौ हजार लिटर, एक सय ४० मुर्रा जाका भैंसीहरुबाट चार लाख २१ हजार तीन सय ५६ लिटर र ५४ अन्य उन्नत जातको भैंसीहरुबाट एक लाख ४५ हजार सात सय ९९ लिटर दुध उत्पादन भएको अनुमान गरिएको छ ।


गाई र भैंसीहरुबाट उत्पादन हुने दुध बजारमा विक्री र घरायसी प्रयोजनमा खपत हुने गरेको छ । प्रदेशमा गाईहरुबाट १९ हजार पाँच सय लिटर उत्पादन भईरहदा छ हजार छ सय ३२ लिटर (३३ दशमलब नौं प्रतिशत) घरायसी परियोजनमा खपत हुँदै आएको छ भने १० हजार पाँच सय ६६ लिटर विक्री हुने गरेको छ । 
यस्तै २५ हजार आठ सय ६० लिटर भैंसीबाट दुध उत्पादन हुँदै आएकोमा घरायसी प्रयोजनमा पाँच हजार सात सय १९ लिटर (२२ दशमलब एक प्रतिशत) खपत हुने गरेको छ भने १२ हजार नौ सय ५४ लिटर (५० दशमलब एक प्रतिशत) विक्री हुने गरेको तथ्यांकमा देखाइएको छ । यस प्रदेशमा दूध उत्पादनको लागि बजार सम्झौता रिपोर्ट गर्ने किसानहरूको अनुमानित संख्या पनि न्यून रहेको छ । घरपालुवा व्यवसाय चार सय ११ रहेकोमा ४० र भैंसीपालन व्यवसाय ३८ रहेको छ । सो सम्झौता अनुसार ५० देखि ७४ प्रतिशत बजार माग अनुसार पुर्ति गर्न सक्ने व्यवसायी आठ र ७५ देखि एक सय प्रतिशत पुर्ति गर्ने ३२ रहेका छन भने भैंसीपालन तीन सय ३० रहेकोमा ३८ जनामध्ये ५० देखि ७५ प्रतिशत पुर्ति गर्नेमा तीन र ७५ देखि सय प्रतिशत पुर्ति गर्नेमा ३५ जना रहेका छन् ।


सो अवसरमा सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामीले व्यवसायीक एकीकृत पशुपालन सर्वेक्षणको तथ्यांकले प्रदेश सरकारलाई आगामी कार्यक्रम, नीति तथा योजना निर्माण गर्नमा सहयोग पुग्ने बताए । उनले भने –‘व्यवसायीक पशुपालनमा देखिएका समस्या, चुनौति र कार्यक्रम निर्माण गर्दा स्पष्ट तथ्यांक भए सहयोग पुग्छ ।’ उनले प्रदेशमा व्यवसायीक पशुपालन भइरहे पनि दुध उत्पादनमा सुधार हुन नसकेको बताए ।