पार्टीमा अनुशासन भङ्ग गर्नेलाई छिट्टै कारबाही हुन्छ : देउवा

पार्टीमा अनुशासन भङ्ग गर्नेलाई छिट्टै कारबाही हुन्छ : देउवा

महेन्द्रनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन भङ्ग गर्नेलाई छिट्टै कारबाही प्रक्रिया सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

‘पार्टी केन्द्रीय समितिले अनुशासन समिति गठन गरेको छ,’ उनले भने, ‘समितिले काम गरिरहेको छ, छिट्टै नै समितिको सिफारिसपछि कारबाही हुन्छ।’ उनले समितिले गरेको कामको बारेमा भने समितिलाई नै अझै विस्तृत जानकारी हुने प्रष्ट्याए। 

‘अनुशासन समितिले उजुरी मागेको छ, केही उजुरी पर्ने क्रम पनि जारी छ,’ उनले भने, ‘समितिको सिफारिसकै आधारमा अन्तरघात गर्ने, अनुशासन भङ्ग गर्नेलाई कारबाही गरिने छ।’ 

पार्टी भित्रको विवाद कहिले समाधान हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले महाधिवेशन आउन अझै २ वर्ष बाँकी रहेको र त्यहाँसम्म सबै समाधान हुने दाबी गरे। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले अहिलेको सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए। ‘यो सरकारले राम्रो देखिने एउटा काम गर्न सकेको छैन,’ उनले भने, ‘बरु हत्या, हिंसा, बलात्कारका घट्ना बढेका छन्।’ सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै संरक्षण गर्ने काम गरेको देउवाको आरोप छ। उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले पक्राउ नगरेर उल्टै बचाउने काम गरेको बताए। 

‘यो सरकारले विभिन्न नाममा अराजकता मच्चाएको छ,’ उनले भने,‘ स्थानीय तहले कर लगाएर जनतालाई सास्ती दिने काम गरेका छन्।’ सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने काम गरेको उनले बताए।