मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी, यसरी पुग्छ बहुमत

मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी, यसरी पुग्छ बहुमत

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दाबी गरेसंगै प्रदेशको सत्ता समिकरण रोचक मोडमा पुगेको छ । 

सत्ता समिकरणमा बहुमत रहेको यस प्रदेशमा उन्मुक्तिले जुन दलले मुख्यमन्त्री दिन्छ सोही दललाईको समर्थन गरेर अघि बढ्ने निर्णय गरेको हो । 

उन्मुक्ति पार्टीमा संसदीय दलका नेता बनेका रामेश्वर चौधरीले प्रदेशको मुख्यमन्त्रीको दौडमा आफु रहेको प्रतिक्रिया दिए ।

प्रदेश सभामा चौथो दल रहेको उन्मुक्तिले केन्द्रमा रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेकाको रिहाईको सर्त अघि बढाउँदै सत्ता समिकरणलाई समर्थन गरेको छ भने यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । 

उनले भने –‘यहाँको सत्ता समिकरण जस्तो पनि बन्न सक्छ । मुख्यमन्त्रीको प्रमुख दाबेदार म पनि रहेको छु ।’

दलका नेता सहित निर्वाचित सो पार्टीका अन्य प्रदेश सभा सदस्यहरुले पनि मुख्यमन्त्री उन्मुक्तिले पाउनुपर्ने दाबी गरेका छन् । 

‘हामी सत्ताको लोभमा नभई एजेण्डामा अघि बढेका छौं’ सो पार्टीका नेता रामेश्वरले भने –‘जहाँ पनि समर्थन गर्ने तर, केही नपाउने भएपछि अहिलेको समिकरणलाई सहयोग कति गरि राख्ने हो ?’ उनले यस प्रदेशमा आफनो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने प्रमुख दाबी रहेको बताए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित छन् । केन्द्रको समिकरणका आधारमा यस प्रदेशमा बहुमत भएपनि उन्मुक्ति पार्टीले समर्थन नगरे मुख्यमन्त्रीका आकांक्षी व्यक्तिलाई विश्वासको मत पाउन कठिन हुने देखिएको छ ।

यस प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात र राष्ट्रिय प्रजातन्त्रका एक गरि २९ जना रहेका छन । यद्यपी उन्मुक्तिले मुख्यमन्त्री नपाएपछि सत्ता समिकरणमा सहयोग नगर्ने उन्मुक्तिबाट निर्वाचित प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले बताए ।

प्रदेशमा नेपाली काँग्रेसका १९, एकीकृत समाजवादी पार्टीका चार र एक स्वतन्त्र गरि २४ जना सत्ता समिकरणबाहिर रहेका छन् ।

नागरिक उन्मुक्ति निर्णायक रहेको यस प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समिकरण बने पनि बहुमत प्राप्त गर्न सक्दैनन । 

नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रलाई समेटेर प्रदेशमा सत्ता समिकरण गराउँदा बहुमत पुग्ने देखिन्छ ।