सेतीमा आधुनिक सिटि स्क्यान मेसिनबाट सेवा शुरु

सेतीमा आधुनिक सिटि स्क्यान मेसिनबाट सेवा शुरु

धनगढी । सेती प्रादेशिक अस्पतालले आधुनिक सिटि स्क्यान मेसिनबाट पूर्णकालिन रुपमा बुधबारदेखि सेवा शुरु गरिएको छ । बुधबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै एक सय २८ स्लाईसको सिटि स्क्यान मेसिन  सम्पूर्ण परिक्षण कार्य सम्पन्न गरि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । अस्पतालका अनुसार धनगढीमा रहेका निजी अस्पतालमा १६ स्लाईस सिटि स्क्यान मेसिन भएपनि सेतीमा आधुनिक सिटि स्क्यान मेसिन जडान गरि शुरु गरिएको जनाइएको छ ।


आन्तरिक व्यवस्थापनको कमजोरी कारण अस्पतालले यसअघि सिटि स्क्यानमार्फत इर्मेजेन्सी विरामीहरुलाई सेवा प्रदान गर्दै आएको थियो । पूर्ण रुपमा मेसिन सञ्चालन आएसंगै अब अस्पतालबाट सेवा लिन आउने विरामीले बाहिर जानुपर्ने बाँध्यता हटेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डाक्टर हेमराज पाण्डेले बताए । मेसिन जडान गरी परीक्षण गर्दा सञ्चालनका लागि उचित रहेको रिपोर्ट आएपनि मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष, बिरामी कुरुवा कक्ष नहुँदा यसअघि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उनले बताए । 


खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सिटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ । अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन भएमा विरामीहरुले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउने छन । यसअघि सेतीमा सिटि स्क्यान मेसिन सञ्चालनमा नआउँदा विरामीहरुले छ हजारदेखि ११ हजार शुल्क तिरेर धनगढीका निजी अस्पताल तथा भारतका विभिन्न स्थान, नेपालको कोहलपुर, काठमाडौ लगायतमा सेवा लिन जानुपर्ने बाँध्यता थियो ।


प्रादेशिक अस्पतालमा तीन जना रेडियोलोजीस्ट रहेको अस्पतालले जनाएको छ । डाक्टर पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृतिमा गरि तीन जना रेडियोलोजिस्टले विहान र साँझसंगै इर्मेजेन्सीमा सेवा प्रदान गर्ने छन् ।
आर्थिक वर्ष ०७७÷०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो । सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो ।


पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो । पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाई भएको थियो ।


यस्तै, अस्पतालले छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी गरेको छ । एमआरआई भन्सार पुगिसकेको र केही महिनाभित्र जडान गरि सञ्चालनमा ल्याइने उनले बताए ।