सूचना नदिने हो भने हामीसँग दैवीय शक्ति हुँदैन कि अपराधि चाँडो पत्ता लगोस् : प्रजिअ थापा (अन्तर्वार्ता)

सूचना नदिने हो भने हामीसँग दैवीय शक्ति हुँदैन कि अपराधि चाँडो पत्ता लगोस् : प्रजिअ थापा (अन्तर्वार्ता)

यस साता कैलालीमा लगातार दुई दिन दुई गोलीकाण्डका घटना घटे । सोमबार राति कैलालीको भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडा दुई राउण्ड गोली चल्यो । गोली लागेर एक जना स्थानीय घाइते भए । त्यसको अघिल्लो दिन आईतबार साँझ कैलालीको अत्तरियाका एक सुनचाँदी व्यवसायीमाथि राजमार्गको बीचमै गोली प्रहार भयो । २–३ सय मिटरमै सशस्त्र प्रहरीको ब्यारेक र प्रहरी चौकी रहेको र सुरक्षित मानिएको स्थानमा नै उनीमाथि गोली प्रहार भएको थियो । बाइकमा सवार भएर आएका दुईजनाले दुई राउण्ड गोली प्रहार गर्दै लुटपाट गरि फरार भएका थिए । तर प्रहरीले हालसम्म दुबै घटनामा संग्लनहरुलाई पक्राउ गर्न सकेको छैन । जिल्लाको सुरक्षाका जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) किरण थापा पीडीत भनिएकाले नै सुचना नदिदा प्रहरी अनुसन्धानमा सफल हुन नसकेको बताउँछन् । थापासँग रेडियो धनगढीका लागि प्रजिअ थापासँग योगेन्द्र भण्डारीले गरेको कुराकानी । यो कुराकानी धनगढीखबरका लागि मोहन पनेरुले उतारेका हुन् ।

लगातार दुई दिन कैलालीमा गोली चल्नुले सुरक्षा संवेदनशिलतामा प्रश्न उठाएन?
सुरक्षाका दृष्टिकोणबाट गोली पड्कनु र गोली हान्नु भनेको समान्य अवस्था होईन । तर पनि त्यसको पृष्ठभूमी हेर्नुपर्छ । गोली किन हानियो त एउटा चाहीँ अत्तरियामा सुन व्यापारीमाथि गोली प्रहार भएको छ । अर्को चाँही गोली हानेको जस्तो छैन ।  गोलीको खोका देखिए पनि जुन चाँही चोरी घट्नामा हो । ई रिक्साको ब्याट्री चोर्दा खेरी होहल्ला भएको हो । पड्किएको भएपनि लागेको अवस्था चाहिँ होईन । 

एउटा घट्नालाई नै लिएर सुरक्षा चुनौती बढेको हो भन्न मिल्दैन, कैलाली जिल्ला १० लाख भन्दा बढी जनसंख्या भएको जिल्ला हो  । यहाँ ७७ जिल्लाका मानिसहरु बसोवास गर्छन । उहाँँहरुलाई सुरक्षितसँग राख्नका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी बल र आवश्यक परेका बेलामा नेपाली सेना यी सबै सुरक्षा अंग तयारी अवस्थामा राखिएको छ । 

यहाँ जति पनि घट्ना घटेका छन अपराधिहरुलाई हामीले नेपालमा होस् वा बाहिर लिएरै आउने गरेका छौं । कारवाहीको दायरामा ल्याएका छौं । यो अवस्था हेरे हिजो मात्रै जिल्ला सुरक्षाको बैठक बसेर हामीले बोर्डरमा दुबैतर्फ अपराध नियन्त्रणका लागि सुचना आदानप्रदान गर्ने छलफल भएको छ । 

सुन व्यापारीले पनि यस्तो समयमा यहाँबाट त्यहाँ सुन लैजाँदै छु मलाई सुरक्षा दिनुपर्यो भनेको भए । हामी सुरक्षा दिन्थ्यौं । हामीले सुरक्षा नदिएको भए एउटा कुरा हुन्थ्यो । 

घटना घटेको यत्रो दिन भई सक्दा पनि किन अपराधीहरु समातिएन्न त ?
अपराधी म यहाँ छ, भनेर बस्ने कुरा भएन । यो बिषयमा हामीले टोली गठन गरेर सुरक्षा निकाय, केन्द्र देखि तलसम्म सबै खटिएर लगेका छौं । भारतको काउण्टरपार्टसँग पनि हाम्रो कुरा भई राखेको छ । 

अहिलेसम्म उहाँ(सुन व्यवसायी)लाई गोली हान्ने कारण दुई तीनवटा हुनसक्छन । 

पहिलो चाँही,  चिनेकै आफ्नै व्यावसायीले लुट्ने उदेश्यले गरेको हुनसक्छ । 

अर्को तपाईलाई थाहा नै छ भारतबाट धेरै(सुन) ल्याउने यता सस्तोमा सुन व्यापारीहरुले किन्ने भइरहन्छ ।  

यी सब कुरा वास्तबमा के हो त ? जो पीडित हो,  जसलाई गोली हानियो उसलाई नै थाहा छ यो कुरा वास्तबमा के हो त? उनले सुचना दिन पर्यो । वास्तबमा सुन यति थियो । यसरी म लाँदै थिए । यसरी लिएर आएको हुँ । यो कारणले चाहिँ हामीलाई यसरी हानियो । केही संकेत त दिनु पर्यो नि । सुचना दाता, जो पीडित हो, त्यसले आफूलाई थाहा भएका सबै कुरा प्रहरीले अनुसन्धान गरोस भनेर सूचना नै नदिने हो भने कुनै पनि अपराधिलाई समात्न गाह्रो हुन्छ । यस्ता खालका घट्नाहरु छन भने घटना के हो? मात्रा कति हो? यहाँ त्यसैमा पनि विवाद सुनिरहेको छ । कोही २३ तोला भन्ने केही कति भन्ने । यहाँ किलोको हिसाब पनि आईरहेको छ । अनुसन्धानमा असर पार्ने भएकाले यो कुराहरु म यहाँ भन्न चाहान्न । 
जो पीडित भनिएको छ, जसलाई गोली लागेको छ, उहाँलाई सही सूचना चाँहि प्रहरी दिनु पर्यो । यो भन्दा अगाडि (भूपेन्द्र) बडुवाल(टीकापुरमा ग्याङ फाइट हुँदा मृत्यु भएका) काण्ड भयो । त्यसपछि कैलालीमै भिनाजुले सालाको हत्या गरेको तथ्य फेला पर्यो । यस्ता घटनामा हामीले हरेक अपराधिलाई समातेका छौं । प्रहरी जतिसुकै चलाख भए पनि, जुनसुकै ठाउँमा पनि नभए पनि हामी अपराधि समातेर ल्याउँन सक्छौं । तर सूचना चाहिँ हामीलाई दिनु पर्यो । सूचना नभईकन हामीलाई अनुसन्धान गर्न सहज हुदँैन । त्यतिकै शंकाको भरमा समात्यौं भने तपाईहरु नै अवाज उठाउँनु हुन्छ । तर पनि कानुनले हामीलाई अधिकार दिएको छ कि कोही माथि शंका लाग्यो भने, प्रहरीले त्यसलाई ल्याउन, सोधपुछ गर्न सक्दछ । यो भन्दा अगाडिको घटना भारतीय र नेपाली मिलेर कुटपिट गर्यो भन्ने थियो । त्यस घटनाका अपराधिलाई हामीले समातिसकेका छौं । अहिले उनले हामीलाई जाहेरीपनि दिएका छैनन् । सामान्य निवेदन मात्रै दिएका छन् । पीडित जबसम्म हामीलाई सहयोग गर्दैनन् । तबसम्मलाई निष्कर्षमा पुग्न समय लाग्छ । 

खुल्ला सिमाना पनि छ, घट्ना घट्नै नदिन बढी चनाखो हुनु पर्ने हो की ?
प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को कामै त्यही जिल्लामा शान्ति सुरक्षा बनाउने हो । प्रहरी ऐनले पनि के भन्छ भने अपराध नै भरसक हुन नदिने, भैहाल्यो भने पनि तत्काल अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउने । यो हाम्रो कर्तव्य हो । तर यसमा के हुन्छ भने हामीलाई सूचना दिनुपर्यो, त्यो नभईकन त अहिलेको जमानामा दैवीय शक्ति त हुदैन, कि धामी बस्ने कि यसो ध्यान दृष्टिले हेर्ने ।  पार्वतीले शिवजीलाई पाए जस्तो । त्यो त सम्भावना नै छैन । अहिलेको यूगमा सूचना संकेत केही न केही नदिईकन प्रहरी आफू केही पनि गर्न सक्दैन । त्यसैले सबैलाई के अनुरोध गर्छौ भने तपाईहरुलाई केही थाहा छ भने प्रहरीलाई भनि दिनुस । सूचना दिनेको नाम चाहिँ हामी बाहिर ल्याउदैँनौ । गोप्य राख्छौं । 

कैलाली सुरक्षाका दृष्टिकोणले कति संवेदनशिल जिल्ला हो?
यो ठुलो जिल्ला पनि हो, जनसंख्या पनि ठूलो छ, राजधानी पनि भएकाले धेरै व्यावसायीहरु यही बस्छन् । एक त खुल्ला सिमाना हो । अर्को चाहि यहाँका बासिन्दा यूवादेखि लिएर स्कुले विद्यार्थीहरु पनि कुलतमा छन् । सवारी दुर्घटनाहरु बढी भईराखेका हुन्छन । प्रायःजसो आत्महत्या भईराखेको हुन्छ । साना हातहतियार पनि प्रयोग भएको देखिन्छ । यी सबैको सामना गर्नका लागि आवश्यकता अनुसार र कम्तीमा महिनामा दुई पटक सुरक्षा निकायको बैठक बस्ने गरेको छ । जिल्लाको समग्र कुराको विश्लेषण गरेर हामी अगाडि बढेका हुन्छौं । प्रहरी मार्फत हामीले जनचेतना पनि फैलाउने गरेका छौं । समुदायसँग भिजेर अपराध रोक्न, कुलतबाट बच्नलाई, बहुविबाह हुनबाट रोक्न, चेलीबेटी बेचबिखन रोक्नलाई, हामी लागि परेकै छौं । एउटालाई अगुवा बनाएर सबैले सहयोग गरे मात्रै हामी सफल हुनछौं । हामी सबै मिलेर अगाडि बढ्न सबैलाई अनुरोध गर्न चाहान्छु । 

जिल्लामा सुरक्षाका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत साधानको पनि अभाव हो र?
सुरक्षालाई चाहिने स्रोत साधानको अभाव नै भन्न मिल्दैन । सामान्यतया हेर्दै खेरि हामीलाई चाहि तत्काल सम्बन्धित ठाउँमा पुग्नलाई सवारी साधन आवश्यक थिया, हामीलाई प्राप्त पनि भयो । जनशक्ति, पुर्वाधारहरु पनि प्रहरी बस्ने चौकीहरु पनि सुधार भैराखेकै छ । मुख्य अभाव भनेको सवारीसाधन ईन्धनको हो । 

हामीले  टोली बनाएका छौं घटना स्थलमा छिटो जानलाई मोटरसाईकल टोली छ । गाडी जाममा पर्छ भनेर । जसले तत्काल घटना घट्यो भने तत्काल त्यहाँ पुग्छ । ग्रामिण ईलाकाहरुमा साईकलको पनि व्यवस्था छ । पैदल यात्रा गर्नु भन्दा त साईकलमा छिटो पुगिन्छ । यसमा हामीलाई स्थानिय पालिकाहरुबाट पनि सहयोग भइराखेको छ ।