बैतडीमा शिक्षक बिष्टको हत्याका अभियुक्त सार्वजनिक

बैतडीमा शिक्षक बिष्टको हत्याका अभियुक्त सार्वजनिक

धनगढी । । बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माध्यामिक बिद्यालयमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको  छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई बैतडी प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । उनीहरु दुवै जना श्रीमान–श्रीमती रहेको खनुसन्धानमा खुलेको छ । 

बिमला बोहरा कृष्ण माध्यामिक बिद्यालयको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययनरत थिईन। 

पौष १ गते राती शिक्षक बिष्टले बिमला बोहरा माथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानमा खुलाएके छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना श्रीमान श्रीमती  मिलेर  फालेको प्रहरीको अनुसन्धानले जनाएको छ  । घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिनु भएको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान  भइरहेको उनले बताए । घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । 

सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो ।