मुख्यमन्त्री खप्तड गोल्ड कपको तयारी शुरु

मुख्यमन्त्री खप्तड गोल्ड कपको तयारी शुरु


धनगढी । सुदूरपश्चिम प्रदेशको सर्वाधिक धनराशीमा आयोजना हुँदै आएको खप्तड गोल्ड गपको तयारी अघि बढाइएको छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लबले मंगलबार कार्यसमिति बैठक आयोजना गर्दै पुस तेस्रो सातामा गोल्डकप शुरु गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको हो ।
यस वर्षपनि सो कपको नाम ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ रहने जनाइएको छ । ‘पुसको तेस्रो सातादेखि कप सञ्चालन गर्ने तयारी भएको छ अहिलेनै मिति तय हुन सकेको छैन’ क्लबका अध्यक्ष सुरेश हमालले भने –‘केही दिनमै मिति तय हुने छ ।’
आयोजकले यस वर्ष पनि प्रतियोगितामा १० टिम सहभागी गराउने लक्ष्य लिएको छ ।

प्रतियोगिताको विजेता टिमले २१ लाख, उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लबका अध्यक्ष हमालले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०÷१० हजारका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।


यस्तै बैठकले क्लबको कार्यसमितिमा रही विभिन्न पदमा निर्वाचित तथा चयन भएका पदाधिकारीलाई सम्मान गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष भई काम गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा निर्वाचित गजेन्द्र शाही, डोटी खेलकुद अध्यक्षमा नियुक्त भएका क्लवका महासचिव प्रकाश शाही र लोकतान्त्रिक फोरम खेलकुद संघको अध्यक्षमा नियूक्त भएका क्लबका कोषाध्यक्ष चक्र मल्ललाई सम्मान गरिएको हो । 
उनीहरुलाई क्लबका अध्यक्ष सुरेश हमालले खादा तथा टीका लगाएर सम्मान गरे ।