सुदूरपश्चिम प्रदेशसभाका सांसदको सुबिधा : कसले कती पाउँछन्  ?

सुदूरपश्चिम प्रदेशसभाका सांसदको सुबिधा : कसले कती पाउँछन्  ?

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित प्रदेशसभाका सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ ।सुदूरपश्चिम प्रदेशसभाका ५३ सांसदको यही पुस ११ गते शपथग्रहण गराउने सचिवालयको तयारी रहेको छ ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले दोस्रो कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुको शपथग्रहण गराउने तयारी थालेको छ । प्रदेश संसद्‌‌ले शपथग्रहण गरेपछि मासिक पारिश्रमिक, भत्तालगायतका सुविधा पाउनेछन् । सुदूरपश्चिम प्रदेशसभाका सांसदहरुले मासिक न्यूनतम ८५ हजार ५०० रुपैयाँ बुझ्नेछन्।प्रदेशसभा सचिवालयका अनुसार मासिक पारिश्रमिक ५६ हजार ५ सय, आवास १७ हजार, धारारबिजुली २ हजार, पत्रपत्रिका तथा संचार ३ हजार र ७ हजार अतिथि सत्कारमा नियमित सुविधा पाउनेछन् ।

आवास सुविधाबापतको १७ हजार भने प्रदेशसभा भवनदेखि १५ किलोमिटर क्षेत्रमा आफ्नै घर भएकाहरुले नपाउने व्यवस्था छ । तर, पहिलो कार्यकालका धनगढीमै आफ्नो घर भएका केही सांसदहरुले पनि आवास सुविधाबापतको रकम बुझेका थिए । साथै, कार्यकालभरिमा एक पटक एकमुष्ट एक लाख रुपैयाँ फर्निचरका लागि पाउने व्यवस्था छ । आफ्नै घरमा बस्ने सांसदहरुलाई सचिवालयले वार्षिक ३५ हजार मर्मत खर्चबापत उपलब्ध गराउने व्यवस्था छ । सांसदहरुले पनि एक जना नासुस्तरको स्वकीय सचिव राख्न पाउने व्यवस्था छ ।

नियमित सुविधाबाहेक सांसदहरुले प्रदेशसभा बैठक बसेको दिन एक हजार बैठक भत्ता र ५०० यातायात खर्च पनि पाउनेछन् । दैनिक भ्रमण भत्ता पनि उनीहरुका लागि बेग्लै तोकिएको हुन्छ । सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षको संसदीय दलका नेता, सत्तारुढ दलको प्रमुख सचेतक र विषयगत समितिका सभापति, सत्तारुढ र विपक्षी दलको प्रमुख सचेतकले अतिरिक्त सेवा सुविधाहरु पाउने प्रावधान छ। सांसदहरुको मासिक पारिश्रमिक ५६ हजार ५०० रहेकोमा सभामुखको ६४ हजार, उपसभामुख र विपक्षी दलको संसदीय दलका नेताको ५९ हजार ५००, सत्तारुढ दलका प्रमुख सचेतकको ५७ हजार ५०० र विपक्ष दलको प्रमुख सचेतकको ५७ हजार रुपैयाँ तोकिएको छ । त्यसबाहेक उनीहरुले पनि आवास, धारा, बिजुली, सञ्चार, अतिथि सत्कार शीर्षकमा अतिरिक्त सुविधा पाउने व्यवस्था छ । पदाधिकारीहरुले सवारी साधन, स्वकीय सचिवहरु पनि पाउने नियम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।साभार कान्तीपुरबाट