मलेसियाविरुद्ध नेपालको सहज जित

मलेसियाविरुद्ध नेपालको सहज जित

आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले सहज जित निकलेको छ । आइतबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको हो । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस हार्दा पहिले ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । ९३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउँदै ९५ रन बनायो । 

नेपालका लागि रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान गरे । उनले ४५ बल खेल्दै ५ चौकाको सहयोगमा ३९ बनाएका हुन् । त्यस्तै आशिफ शेखले २६ रन जोड्दा पवन सरार्फले १९ रनको योगदान गरे । 

यसअघि पहिले ब्याटिङ गरेको मेलेसियाका लागि लेजाड ड्यानियल फकिरीले सर्वाधिक ३७ रनको योगदान गरे । ५५ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । 

त्यस्तै कप्तान मोहमद अमिरले १३ रन जोड्दा हाकिम हर्शनले १० रनको योगदान गरे । मलेसियाका लागि त्यस बाहेक कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका पवन शराफ र कौशल मल्लले सर्वाधिक तीन तीन विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले दुई विकेट लिदा सागर ढकालले एक विकेट झार्न सफल भए । 

मलेसियाविरुद्ध जित निकाल्दै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।