अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला । भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकारी गरिरहेको हो । मंसिर २१ गते नेपाली र भारतीय प्रशासनका बीच भारतको धारचुलामा अस्थायी अर्थात कृतिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो । तर १० दिन बित्न लाग्दासमेत भारतले उक्त ढुंगामुगां र तारजालीसहितको तटबन्ध हटाएको छैन् । 

यदि सो तटबन्ध भारतले नहटाए वर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ । जिल्ला सदरमुकाम खलंगापारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र त्यत्तिकै नापमा चौडा पक्की तटबन्ध बनाइरहेको छ । तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर होचिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई सो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उनले बताए । नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने मंसिर २१ गतेमा सहमति भएको उनले बताए । 

भारतले पक्की तटबन्ध भन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुदै आएको छ ।