दाजुको राजनीतिक विरासत पछ्याउँदै अघि बढेका धर्मराज

दाजुको राजनीतिक विरासत पछ्याउँदै अघि बढेका धर्मराज

धनगढी  ।  सुदूरपश्चिमको राजनीतिमा महेश्वर पाठक परिचित अनुहार हुन् । तीसको दशकबाटै राजनीतिमा होमिएका उनी २०५१ सालमै संविधान सभा सदस्य निर्वाचित भएका थिए । त्यसयता २०५६ को आम निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७१ को उपनिर्वाचनको अनुभव पनि उनीसँग छ । 

महेश्वरले एमालेको बुद्धिजिवी परिषदको सदस्य, नगर कमिटि, जिल्ला सचिवको भूमिका निर्वाह गरिसकेका छन् । उनी जिल्ला सचिव, सेती अञ्चल कमिटि सचिव, इन्चार्ज, पार्टीको केन्द्रिय सदस्य हुँदै अहिले केन्द्रिय सल्लाहकार छन् । 

दाई महेश्वरको यो राजनीतिक यात्राको साक्षी हुन्, धर्मराज । जो भर्खरै प्रदेशसभाको सदस्य बनेको दाईकै विरासतलाई अघि बढाउँन उद्वेलित छन् । 

No photo description available.

धर्मराज पाठकको दाई महेश्वर पाठक

प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम घोषणा हुँदा नेकपा एमालेले धर्मराजलाई सुदूरपश्चिम प्रदेशको समानुपातिक सदस्य बनाएको छ । 

एकहिसाबले उमेरका कारण दाई महेश्वर राजनीतिबाट टाढा हुँदै गर्दा भाई धर्मराज भने उनको विरासत पछ्याउँदै एमालेको राजनीतिमा अघि बढ्न खोज्दैछन् । 

दाजु महेश्वर राजनीति यात्रा र उनका कुराबाट प्रेरित भएर नै आफू राजनीतिमा होमिएको धर्मराज बताउँछन् । 

‘मेरो होस खुलेदेखि नै म क्षेत्रमा प्रवेश गरे, मेरो पारिवारिक पृष्ठभूमि पनि यस क्षेत्रमै रहेको छ । तर सबैभन्दा बढी मलाई प्रेरणा दिने पात्र भनेकै मेरा दाइ हुन्,’ धर्मराजले धनगढीखबरसँग कुरा गर्दै भने । 

धर्मराजको राजनीतिक यात्रा महेश्वरको भन्दा एकदशक पछाडि हो । २०४५ पछिमात्रै धर्मराज सक्रिय राजनीतिमा लागे । विस्तारै उनी पार्टीका जुलुस, सम्मेलन र कार्यक्रममा सहभागी हुन थाले । स्वभावले शान्त देखिने उनी परि आएका खण्डमा पार्टीका आन्दोलनहरुमा अग्रमोर्चामा रहि आन्दोलनमा नारा घन्काईरहेका हुन्थ्यो । 

२०४६ सालमा नागरिक समाजको तर्फबाट आन्दोलनमा हेमिएका उनले व्यवस्था परिवर्तनमा योगदान पुर्याए । तत्कालिन नेकपा मालेको भातृ संगठन अनेरास्ववियू एकता पाँचौको सचिव बनेर औपचारिक रुपमा उनको राजनीति अघि बढेको हो । २०४९ मा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट कैलाली बहुमुखी क्याम्पसको सचिव, ०५० सालमा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य, ०५२ मा केन्द्रीय सदस्य, ०५३ मा सुदूरपश्चिम इन्चार्ज र ०५५ मा केन्द्रीय कोषाध्यक्ष बने । 

हरेक वर्ष बढेको उमेरको अंकसँगै उनको पार्टीप्रतिको लगाव र जिम्मेवारी पनि बाक्लिदै गयो । उनी एमाले जिल्ला कमिटि सदस्य हुँदै अहिले प्रदेश सचिवका रूपमा कार्यरत छन् । 

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ । चुनावमा सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ एमालेले ७ सिट पाएको थियो । त्यसको एक रोजाईमा परेका व्यक्ति हुन्, धर्मराज । अब उनको जिम्मेवारी अझै थपिएको छ । सुदूरपश्चिम प्रदेशसभामा नीति निर्माणमा व्यक्त हुनेछन् उनी ।

सुदूरपश्चिम प्रदेश सरकारप्रति जनताका गुनासा धेरै छन् । यसलाई समाधान गर्ने प्रमुख लक्ष्य हुने उनी बताउँछन् । पहिलो पटक सांसद हुँदा आफूलाई परेका जिम्मेरीवारीलाई निस्वार्थ रूपमा पुरा गर्ने उनको भनाई छ । 

‘प्रदेशको नीति निर्माणमा भूमिका खेल्नु त छदैँछ । आवश्यक परेका बेला त्यसलाई कार्यान्वयन पनि लाग्नेछु,’ धर्मराजले भने, ‘राजनीतिक दलहरुप्रति जनतामा अझै पनि नैराश्य बाँकी नै रहेको छ । यसलाई कम गर्न मेरो भूमिका रहनेछ ।’ 

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । सोहीकारण यसपल्ट एमालेले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । त्यसका लागि पार्टी तयार रहेको उनले बताए ।

लामो समय एक सामाजिक संस्थामा काम गर्दै पाठक गाउँगाउँ पुगेका छन् । स्थानीयको समस्याहरू बुझेका छन् । सँगै बसेर नजिकबाट आवश्यकता महसुस गरेका छन् । ग्रामीण क्षेत्रका आकांक्षा सम्बोधन गर्न प्रदेशसभामा आफ्नो भूमिका शशक्त रहने उनी बताउँछन् । 

‘नागरिकहरूको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरालाई प्राथमिकतामा राख्दै रोजगारी तथा उद्यमका क्षेत्रमा जोड्ने सक्ने बनाउँन मेरा भूमिका रहनेछ,’ पाठकले भने, ‘ जनताको पक्षमा काम गर्न सक्ने दृढ इच्छा शक्ति र मनोबल नै सबै भन्दा ठुलो हो । जनताको सेवा गर्न दिन रात नभनी काम गर्ने प्रतिज्ञा गर्छु ।’

जनताको सेवा गर्न सकियो भने सुदूरपश्चिमको राष्ट्रिय नेताका रूपमा देखिन असहज नहुने उनले देखेका छन् । 

‘म राजनीतिमा लागेर आफ्नो सक्दो योगदान गरिरहेको छु मैले मेरो बाँकी जीवन देश र जनताका लागि नै समर्पित गर्ने हो,’ उनले भने, ‘आगामी दिनमा कहाँ पुग्न सकिएला त्यो हेर्न बाँकी छ ।’