आयुर्वेद चिकित्सालयद्धारा करारमा जनशक्ति माग

आयुर्वेद चिकित्सालयद्धारा करारमा जनशक्ति माग

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित प्रादेशिक आयुर्वेद्ध चिकित्सालयलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरि तयारी अघि बढाइएको छ ।

भवन निर्माण सम्पन्न भई हष्तान्तरण भएपनि जनशक्ति अभावका कारण पूर्ण रुपमा सेवा सञ्चालन गर्न नसकेको चिकित्सालयले तयारी अघि बढाएको छ । चिकित्सालयका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न करारमा कर्मचारी माग गरेको छ ।

चिकित्सालयले दुई जना आयुर्वेद्ध चिकित्सक, एक–एक होमियोप्याथिक चिकित्सक, प्राकृतिक चिकित्सक, रेडियो ग्राफर, ल्याव टेक्निसियन, सहायक कम्प्यूटर अपरेटर, ल्याब असिस्टेन्ट, दुई–दुई अनमी, वैद्य, स्टाफ नर्स र तीन जना कविराज पदमा आवेदन खुल्ला गरेको छ ।

सो पदमा योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने चिकित्सालयका निमित्त चिकित्सक डाक्टर खगेन्द्र बमले जानकारी दिए ।

चिकित्सालयले असोज ९ गतेदेखि अस्पताल सञ्चालनमा ल्याउन निःशूल्क स्वास्थ्य शिविर गर्दै केही सेवा शुरु गरेको थियो ।

चिकित्सालयले पहिलो चरणमा ओपीडि सेवा, ल्याव सेवा, औषधि वितरण र योग परामर्श सेवा प्रदान गरिरहेको छ ।

उनले भने –‘यी सेवा शुरु भएसंगै अस्पतालमा बिरामीको आकर्षण विस्तारै बढीरहेको छ ।’ उनले जनशक्ति व्यवस्थापन भएपछि अस्पताल भवन पनि समुदघाटन गराईने बताए । ‘दशै अघिनै भवनको समुदघाटन गर्ने तयारी गरेपनि निर्वाचन आँचारसंहिताका कारण सो कार्य अघि बढ्न सकेको थिएन’ उनले भने ‘अव केही दिनमा भवनको पनि उद्घाटन हुने छ ।’

उनले प्राविधिका कारणले अस्पतालले प्रदान गर्नु पर्ने सेवा सञ्चालनमा ढिलाई भएको बताए । उनले भवन, उपकरण लगायतका तयारी पुरा भईसकेको बताए । 

सो चिकित्सालयमा अन्तरंग सहितको सेवा उपलब्ध गराउने गरि पाँच जना चिकित्सक (डाक्टर), प्राकृतिक चिकित्सक र होमियोप्याथिक एक÷एक, कविराज चार, स्टाफ नर्स दुई, ल्याब, रेडियोग्राफर एक÷एक र अन्य गरि ३५ जना कर्मचारीको दरबन्दी रहेको छ ।

संघिय सरकारले २०६८ सालमा सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल सञ्चालन ल्याउने उद्देश्य सहित क्षेत्रीय आयुर्वेद अस्पताल नामाकरण गरेको थियो । २०७७ सालको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रादेशिक आयुर्वेद चिकित्सालय नामाकरण गरि सञ्चालनको तयारी गरिएको थियो ।

सो भवनको ठेक्का २०६८ सालमै अघि बढे पनि निर्माण कार्य २०७४ सालमा अघि बढाइएको थियो । वनले स्वीकृति नदिँदा भवन निर्माणको कार्य छ वर्षसम्म अघि बढ्न सकेको थिएन । १८ लाख बढी लागतमा निर्माण भएको चिकित्सालय भवनबाट अन्तरंग, बहिरंग, योग, आयुर्वेद औषधि वितरण लगायतका सेवा प्रदान गरिने छ ।