सुदूरपश्चिमको प्रदेशसभामा छ दल र एक स्वतन्त्रको प्रतिनिधित्व

सुदूरपश्चिमको प्रदेशसभामा छ दल र एक स्वतन्त्रको प्रतिनिधित्व

सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दल र एक स्वतन्त्रको प्रतिनिधित्व हुँदैछ ।

हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन । त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन् । 
 
नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् ।

पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् ।

यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो । एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ ।

यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित भएकामा दोस्रो चुनावमा दशजनामा सीमित हुन पुगेको छ । पार्टीमा भएको विभाजनका कारण एमालेका १४ सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभा उक्त दल ११ सदस्यमा सीमित भएको थियो ।

यस्तै पहिलो प्रदेशसभामा १४ जना सदस्य जितेको माओवादी केन्द्र यो चुनावमा प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा सीमित भएको छ । 

चार पूर्वसदस्य पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका छन् । यसअघिको चुनावमा एमालेबाट निर्वाचित भई एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनःप्रदेशसभामा निर्वाचित भएका हुन्   । प्रदेशसभाका पूर्वसदस्य एवं कांग्रेस नेता डिल्लीराज पन्त कैलाली–५ बाट र  अर्का पूर्वसदस्य तारालामा तामाङ कञ्चनपुर–१बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।   

प्रदेशसभाका १२ पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । पराजित हुने पूर्वसदस्यहरुमा कञ्चनपुरबाट समाजवादी पार्टीका लालबहादुर खड्का, कैलालीबाट अमरबहादुर साउद, कैलालीबाटै माओवादी केन्द्रका नन्दबहादुर साउद  डडेलधुराबाट एमालेका पठानसिंह बोहोरा, बैतडीबाट लीलाधर भट्ट,  कैलालीबाट नेपालु चौधरी र बाजुराबाट बलदेव रेग्मी छन्।

अछामबाट झपट बोहोरा भने यो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।यसैगरी एमालेबाट यसअघिको निर्वाचनमा कैलाली–२ बाट प्रदेशसभा निर्वाचित रतनबहादुर थापा दोस्रो पटक पराजित हुनुभयो । उहाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा  प्रतिस्पर्धा गरेका थिए। 
  
यस्तै कैलालीबाट प्रदेशसभा सदस्यका लागि पुनः टिकट पाउनुभएका कांग्रेसका नेता डा रणबहादुर रावल र लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी दोस्रो पटक प्रदेशसभामा पुग्न असफल भए ।  प्रदेशसभाका लागि प्रत्यक्षतर्फका सबै ३२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसक्दा समानुपातिकतर्फको २१ सदस्यकोे नतिजा आउने क्रममा छ । प्रदेशसभामा ५३ सदस्य रहन्छन् ।   

सुदूरपश्चिममा प्रदेशसभातर्फ एक सय ११ जनाको जमानत जफत

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए ।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक वाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ । प्रदेशसभामा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यहाँ प्रदेशसभा प्रत्यक्षतर्फ डडेलधुरा प्रदेशसभा २ मा एमालेका गजेन्द्रबहादुर शाही जमानत जफत भएको छ । कूल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गरेको निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् । जमानत जफत हुनेमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीदेखि बाजुराका राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मतबहादुर शाहीसम्म हुनुहुन्छ ।

बाजुरा प्रदेशसभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ । विश्वकर्माले कूल सदर मत २० हजार सात सय तीनमध्ये जम्मा एक हजार ९८ मत मात्रै प्राप्त गरेको छ । सुदूरपश्चिमअन्तर्गत प्रदेशसभाका कूल एक सय ९३ उम्मेदवारमध्ये कैलाली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार चक्रबहादुर चौधरीले सबैभन्दा कम १३ मत प्राप्त गरेको छ । कूल २८ हजार दुई सय छ मत सदर भएकामा चौधरीले सबैभन्दा कम मत प्राप्त गरेको थियो । प्रदेशसभा सदस्यमा सबैभन्दा बढी नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, नेकपा ९एकीकृत समाजवादी०ले तीन र एक जना स्वतन्त्र १ ले निर्वाचनमा जित हासिल गरेका छन् ।

समानुपातिकमा २१ मध्ये १८ जना महिला प्रतिनिधित्व हुने 

प्रदेशसभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपर्ने भएको छ । प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले १८ सिट जित्दै पहिलो दल बनेको छ भने प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ तीन गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ ।

चार जना पुनःनिर्वाचित

सुदूरपश्चिम प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यमा दोहोरिएर निर्वाचिन भएको छ । पुनःनिर्वाचित हुनेमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ बाट आर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादीका) प्रकाश रावल र कैलाली ४ प्रदेशसभा १ बाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) दीर्घबहादुर सोडारी रहेका छन् । 

त्यसैगरी दार्चुला प्रदेशसभा २ बाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी र अछाम २ प्रदेशसभा १ बाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका छन् । - रासस