सुदूरपश्चिममा भ्रष्टाचारका उजुरीमा कमी आएन

सुदूरपश्चिममा भ्रष्टाचारका उजुरीमा कमी आएन

धनगढी । साउन १ गते अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले स्ट्रिङ अपरेशनमा कैलाली मोहन्याल गाउँपालिकाका अधिकृतलाई घुससहित रंगे हात पक्राउ गर्यो । 

गाउँपालिकाका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग  ३० हजार नगद घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले पक्राउ गरेको हो । कार्यालयले चालु आर्थिक वर्षमा स्ट्रिङ्ग अपरेशन गरेको यो पहिलो हो ।

कार्यालयले चालु आर्थिक वर्षमा एक पटक स्ट्रिङ अपरेशन गरेको भएपनि फोन, निवेदन, सामाजिक सञ्जाल, पत्रपत्रिका लगायतबाट भ्रष्टाचारका उजुरीमा भने कमी आएको छैन् । 

अख्तियार अनुसन्धान आयोग कञ्चनपुरले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा तीन सय ६४ वटा भ्रष्टाचारका उजुरी दर्ता भईसकेका छन् । आर्थिक वर्ष २०७८–७९ मा प्रदेशमा सात सय सात भ्रष्टाचारका उजुरी दर्ता भएका थिए ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी कैलालीमा भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । कैलालीमा एक सय २३ उजुरी दर्ता भएका छन भने कञ्चनपुरमा ५५ उजुरी दर्ता भएका छन् । 

प्रदेशका पहाडी सात जिल्लामध्ये सबैभन्दा बढी बैतडीमा उजुरी दर्ता दर्ता भएका छन् । आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार बैतडीमा ४१, डोटीमा ३५, डडेल्धुरामा ३०, दार्चुलामा २३, बाजुरामा २२, बझाङमा २० र अछाममा १४ उजुरी दर्ता भएका छन् ।

गत वर्ष कैलालीमा एक सय ९८, कञ्चनपुरमा एक सय ४२, बैतडी, बझाङमा ६३–६३, डोटीमा ६०, डडेल्धुरामा ५७, दार्चुला, बाजुरामा ४३–४३ र अछाममा ३८ उजुरी दर्ता भएका थिए ।

प्रक्रियामै सात सय ९० उजुरी 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश कञ्चनपुरको स्थापनाकालदेखि हालसम्म १० वर्षको अवधिमा जम्मा सात हजार छ सय ८९ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७०–०७१ देखि चालु वर्ष २०७९–०८० को हालसम्म दर्ता भएका उजुरीमध्ये छ हजार आठ सय ९९ मात्रै फछ्र्यौट भएका छन् ।

उजुरी उपर प्रारम्भिक छानबिन गरेर केही काबारही त केही तामेली र बाँकी फछ्र्यौट गर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रमुख नारायणप्रसाद ढकालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ बाट जिम्मेबारी सरी आएका छ सय ७८ र चालु आर्थिक वर्ष २०७९–०८० मा दर्ता भएका तीन सय ६३ गरि कुल एक हजार सय ४१ मध्ये हालसम्म २ सय ५१ उजुरीको अनुसन्धान कार्य पुरा गरि फछ्र्यौट र बाँकी सात सय ९० उजुरीमाथि अनुसन्धान भईरहेको छ ।

स्थानीय तह लगायतका क्षेत्रमा भ्रष्टाचारका घटना बढ्दै गएको अवस्थामा भ्रष्टाचारलाई जरैदेखि न्यूनीकरण गर्नका लागि अख्तियारले प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरेको छ ।

‘स्थानीय सरकारका वडा तहदेखि हामीले सामुदायिक विद्यालयसम्म अनियमितता रोक्न कार्यक्रम संचालन गरेका छौँ,’ सूचना अधिकारी ढकालले भने, ‘भ्रष्टाचार रोक्न विश्व समुदायको साझा चुनौती बनेको छ ।’