राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार को -को हुन ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार को -को हुन ?

काठमाडौं । यो निर्वाचनबाट उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत पायो । यही मतसंख्याका आधारमा रास्वपाबाट १३ जना समानुपातिक सांसद निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ।


रास्वपाले आयोगमा १ सय ७ समानुपातिक उम्मेदवारको नामावली बुझाएको छ। तिनै नाममध्येबाट १३ जना चयन गरेर आयोगमा बुझाउनुपर्नेछ। यसरी उम्मेदवार पठाउँदा समानुपातिक र समावेशी नामलाई पहिलो प्राथमिकता दिनुपर्नेछ। 


प्रत्यक्षमा चितवन १ र २, काठमाडौं २, ६, ७, ८ र ललितपुर ३ जितेको रास्वपाका सांसदहरुमा दलित, जनजाति, मधेशी, थारु र मुस्लिम परेका छैनन्। त्यही भएर अब समानुपातिक उम्मेदवार छान्दा सो पार्टीले यी क्लस्टरलाई प्राथमिकता दिनुपर्ने हुन्छ।

प्रत्यक्ष र समानुपातिक गरी रास्वपाले जितेको जम्मा २० सिटको ३३ प्रतिशत अर्थात् ७ जना महिला पठाउनुपर्छ। रास्वपाबाट डा। तोसिमा कार्की र सोबिता गौतमगरी दुई जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्। 

अब बाँकी ५ जना महिला अनिवार्य निर्वाचित गराउनुपर्छ। यसो गर्दा रास्वपाले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेका महिला संख्या पहिलो प्राथमिकतामा पार्नुपर्नेछ। तर, त्यसरी प्राथमितामा महिलालाई पार्दा आदिवासी जनजाति, खसआर्य, दलित, थारु र मुस्लिम कोटा मिलाउन पाउनेछ।

विद्यमान व्यवस्था अनुसार प्रतिनिधि सभामा आदिवासी जनजाति २८.७० प्रतिशत, खस आर्य ३१।२० प्रतिशत, थारु ६।६० प्रतिशत, दलित १३।८० प्रतिशत, मधेशी १५।३० प्रतिशत र मुस्लिम ४।४० प्रतिशत हुनैपर्छ।

यस आधारमा रास्वपाले आदिवासी जनजातिबाट ६ जना चयन गर्न पाउनेछ। प्रत्यक्षबाट काठमाडौं ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ जनजाति हुन्। त्यसैले उसले ५ जना जनजाति चयन गर्न पर्छ।

महिला कोटाबाट बन्दसूचीमा रहेका इन्दिरा रानामगर र सुमना श्रेष्ठ निर्वाचित हुन सक्नेछन्। उनीहरुको नाम सूचीको पहिलो र दोस्रो नम्बरमा छ। 

यस्तै, डा। ढाकाकुमार श्रेष्ठ र मेघबहादुर आले पनि समानुपातिक सांसद बन्ने देखिन्छ। विष्णुकुमार श्रेष्ठ र शेखर चन्द्र राईमध्ये एक जना पनि निर्वाचित हुने देखिन्छ।

आदिवासी जनजातितिर ५ जना छनोट भइसकेपछि अब रास्वपासँग निर्वाचित गराउन बाँकी ८ जना रहन्छन्। 

त्यसमा पनि ३३ प्रतिशत पुर्याउन अझै उसलाई तीनजना महिला संख्या आवश्यक छ।  

प्रत्यक्षमा निर्वाचित भएकामध्ये रवि लामिछाने, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, सोबिता गौतम र डा। तोसिमा कार्की ६ जना खसआर्य क्लस्टरका हुन्। रास्वपाले खस आर्यमा जम्मा पाउने संख्या नै यति हो।

रास्वपाले दलितबाट ३ जना निर्वाचित गराउन सक्छ। त्यसमा कल्पना रोका पर्नेछिन्। सन्तोष परियार र शिव नेपालीको नाम पहिलो र दोस्रोमा भएकोले उनीहरु दुवैजना निर्वाचित हुने सम्भावना छ। 

यस्तै थारुबाट सविना महतो पनि पर्ने निश्चित देखिन्छ।

मधेशबाट जम्मा ३ जना निर्वाचित गराउन सक्ने रास्वपाले मनिष झालाई निर्वाचित गराउने निश्चित छ। ई। तपेश्वर यादव पनि चयन हुने प्रबल सम्भावना छ। 

यस्तै लक्ष्मी तिवारीको नाम मधेशी महिलाको १ नम्बरमा रहेकोले उनी पनि समानुपातिक सांसद बन्ने सम्भावना छ।

यसैगरी मुस्लिम क्लस्टरबाट सामिना मियाँ निर्वाचित हुने बढी सम्भावना छ। रास्वपाले प्राइमरी निर्वाचनबाट चयन भएका नामहरु नै समानुपातिक सूचीमा राखेको हो।

दलभित्र लोकतान्त्रिक प्रक्रिया अपनाएको रास्वपाले १३ जनाको चयन पनि सोही आधार अपनाएको बताएको छ।