धनगढीमा सुपरमार्केटका प्लाष्टिक झोला जफत

धनगढीमा सुपरमार्केटका प्लाष्टिक झोला जफत

धनगढी । धनगढी उपमहानगरपालिकाले सुपरमार्केटमा प्रयोग भईरहेका प्लाष्टिकजन्य झोला जफत गरि नष्ट गरेको छ । सोमबार धनगढी उपमहानगरपालिककी उपप्रमुख कन्दकला रानाको संयोजकत्वमा सुपरमार्केटको अनुगमन गर्दै प्लाष्टिकजन्य झोला जफत गर्दै नष्ट गरिएको हो ।

धनगढी उपमहानगरपालिकाभित्र प्लाष्टिकजन्य झोला, माला, गिलास, प्लेट लगायतको प्रयोगमा कमी ल्याउन सुपरमार्केटकमा अनुगमन गरिएको उनले बताईन । उनका अनुसार सुपरमार्केट भाटभटेनी, विवि मार्ट, हेलो मार्ट लगायतमा अनुगमन गर्दै प्लाष्टिक झोला जफत गरिएको हो ।

सो क्रममा उपप्रमुख रानाले आगामी दिनमा प्लाष्टिकजन्य झोला प्रयोग नगर्न पनि सुझाव दिइन् । 
उपमहानगरपालिकाले प्लाष्टिकजन्य सामाग्रीका कारण वातावरणमा प्रभाव पर्ने भन्दै असोज १ गतेदेखि विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । यद्यपी कार्यान्वयनमा भने जान सकेको थिएन । सोमबार सुपरमार्केटमा रहेका प्लाष्टिक झोला नियन्त्रणमा लिइएको छ भने अन्यमा क्रमशः अनुगमन गर्दै पूर्ण रुपमा प्लाष्टिकजन्य झोलाको विक्री वितरणमा रोक लगाईने उपमहानगरपालिकाले जनाएको छ ।