दार्चुलामा ढुङ्गा हानाहान: दिनभर जे देखियो

दार्चुलामा ढुङ्गा हानाहान: दिनभर जे देखियो

आइतबार दिउँसो भारतले एकतर्फि रुपमा महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको थियो । खलंगा पारी भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध निर्माण गरिरहेको भन्दै दिउँसो एकाएक बांगाबगरका स्थानीयले ढुंगामुंगा गरे ।

जवाफमा भारतीय स्थानीयलेसमेत ढुंगामुंगा गरे । ढुंगा हानाहानमा दुई नेपाली नागरिक घाइते भए ।

नेपाली पक्षको ढुंगा हानाहानपछि भारततर्फ टिप्पर चलाइ रहेका नेपाली नागरिक पुस्कर सिंह नै घाइते भए । उनको टाउँकोमा चोट लाग्यो   । जब पुस्कर सिंहलाई चोट लाग्यो भारततर्फका स्थानीयले ढुंगा बर्साए । त्यस क्रममा नेपालतर्फ रहेका १३ वर्षीय बालक प्रेम कुँवर घाइते भए । उनको निधारमा चोट लागेको छ । 

ढुंगामुंगापछि स्थिति तनावग्रस्त भयो । बंगाबगरका तीन दर्जन बढी स्थानीय भीडसहित खलंगास्थित नेपाल–भारत जोड्ने सीमापुलमा पुगे । उनीहरुले भारतले तटबन्धनको निर्माण कार्य रोक्नुपर्ने मागसहित दिउँसो साढे ४ बजेतिर सीमापुलमा ताल्चा लगाइदिए ।

 पुलमा ताल्चा लाग्दा आवातजावत ठप्प भयो । स्थानीयहरुले यसरी ताल्चा लगाएको यो पहिलो पटक हो । प्रहरीले ताल्चा खोल्न हर प्रयास गर्यो तर सम्भव भएन्, बांगाबगरका स्थानीय महिलाले प्रहरीलाई ताल्चा नै खोल्न दिएनन् । सीमा पुलमा सयौँ मानिसको भीड लाग्यो ।

 दैनिक जसो वारीपारी भइरहेका दुबै देशका स्थानीय पुलबन्द हुदाँ अड्किए । अप्राह्न ५ बजेतिर प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको नेतृत्वमा सुरक्षा टोली र केही राजनीतिक नेता तनावग्रस्त क्षेत्रमा पुगेका थिए । त्यहाँको विवाद साम्य हुने नदेखेपछि प्रमुख जिल्ला अधिकारीको टोली भारत गइ त्याँहा निर्माण भइरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो । त्यस क्रममा त्यहाँका सुरक्षा अधिकारीका साथै तटबन्ध निर्माण गरिरहेको कम्पनीका पदाधिकारी र प्राविधिक टोलीसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 


‘नेपालतिर क्षति नपुग्ने गरी संरचना निर्माण गर्न भनेका छौ, दुबै देशको सहमति मात्रै कुनै पनि कार्य गर्दा विवाद हुदैन, प्रजिअ उपाध्यायले भने– प्राविधिक टोलिले निरीक्षण गरेर मात्रै निर्माण कार्य अघि बढाउन आग्रह गरेका छौ ।’

भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले महाकाली पारी एक किलोमिटर लम्बाइ र आठ मिटर उचाइ र चौडाइमा पक्की तटबन्ध निर्माण गरिहेको छ । 

भारतले महाकाली नदीमाथि एकतर्फी रुपमा धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेकोमा नेपालतर्फबाट विरोध भइरहेको छ ।