सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाब

सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाब

मोरङ । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।

विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयी जुलुसको क्रममा वादविवाद भएको तर सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको बताए ।

उनले दुहबीमा अहिले कुनै तनाव नभएको र स्थिति नियन्त्रणमा आइसकेको बताए । ‘विजय जुलुसको क्रममा आफ्नो घर अगाडि आएर चर्को साउण्डमा डीजे बजाउनुका साथै हुलहुज्जत गरेको कांग्रेस पक्षको आरोप छ,’ प्रजिअ यादवले भने, ‘तर एमाले पक्षले हामी सभ्य तरिकाले आफ्नो मर्यादामा रहेर विजय जुलुस मनाउने क्रममा ढुँगामुढा गरेका हुन् भनेका छन् ।’

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिनुका साथै अब पुनः कुनै अप्रिय घटना हुन नदिन जिल्ला तहको नेतासँग समन्वय गरिरहेको प्रजिअ यादवले बताए ।

सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।