फ्राइडे रिलिज : आजदेखि ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ प्रदर्शनमा

फ्राइडे रिलिज : आजदेखि ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् ।  आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ।

दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र निर्देशक झरना थापाकी छोरी  सुहाना थापाको जोडी बाँँधिएको छ । सुहानाले यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी छिन् । 

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ को बार प्रिमियर पनि गरिएको छ । प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिति रह्यो । सिनेमा हेरिसकेपछि सबैले सिनेमा राम्रो बनेको प्रतिकृया दिएका छन् ।

अभिनेत्री सुहाना थापालाई स्टार गायकको डाइहार्ट फ्यानका रुपमा प्रस्तुत गरिएको छ । अनमोललाई भने दोहोरो भूमिकामा देख्न सकिन्छ ।

सुनिल कुमार थापाको निर्माण रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसी, डेब्यु नायिका सुहाना थापासँगै सलोन बस्नेत, सरोज खनाल, रेअर राइलगायतका कलाकारहरु मुख्य भूमिका रहेको छ । 

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो यात्रा । चलचित्र यात्रा अभिनेता सलिनमान बनियाँका कारण पनि चर्चामा छ । अझ रोचक कुरा त के छ भने चलचित्र यात्राका नायक सलिनमान बनियाँलाई झरना थापाले नै चलचित्रमा प्रवेश गराएकी थिइन् त्यो पनि यस अघिको चलचित्र ‘ए मेरो हजुर २’ बाट । 

चलचित्र यात्रामा सम्राट शाक्यको डेब्यू निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत भएका छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्र यात्राको कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् । 

संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ ।

चलचित्र यात्रा लाई जर्नी लभस्टोरीसमेत नाम दिइएको छ । यसमा यात्रामा आइ पर्ने विभिन्न समस्या प्रस्तुत गर्ने प्रयास गरिएको छ ।  चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।