बाजुराका २३ ठाउँमा विवाद, पुनः मतदानको माग

बाजुराका २३ ठाउँमा विवाद, पुनः मतदानको माग

धनगढी । बाजुराका विभिन्न ठाउँमा गरेर २३ भन्दा बढि ठाउँको मतदानमा विवाद उत्पन्न भएको छ। जसले गर्दा निर्वाचन प्रक्रिया अन्योलमा छ।


अन्य क्षेत्रमा मतगणना सुरु भइसक्दा पनि बाजुरा अहिलेसम्म मत गन्न थालिएको छैन्। मतदानका क्रममा आइतबार बाजुरा  दिनभर अशान्त र तनावग्रस्त रहेको थियो। 


झडप, मतदानस्थल तोडफोड, ढुंगामुुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना त्यहाँ भएका थिए। 

मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। 

त्रिवेणी नगरपालिका–७ का सञ्जिव अयडीको प्रहरीको गोली लागेर ज्यान गयो। नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो।


दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। छातीम गोली लागेका २३ वर्षीय युवक अयडीको ज्यान गयो भने प्रहरी सहित अन्य तीन जना घाइते भएका थिए। 

आइतबार राति नै त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरियो। नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध अयडीको कुटपिटबाट ज्यान गएको हो। 

यो घटनाले अहिले बाजुरा तनावग्रस्त छ। हत्यापछि आक्रोशित अनेरास्ववियुका कार्यकर्ताहरुले मार्तडी बजार बन्द गरेका छन्।


तनावकैबीच बाजुरामा मतदान सम्पन्न भएको छ। तर, विवादले मतगणना सुरु हुन सकेको छैन। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै निवेदन परेको छ।

बुढीनन्दा नगरपालिका–५ मा विवाद बढेपछि निर्वाचन अधिकृतले सूचना जारी गर्दै अनिश्चितकालका लागि मतदान स्थगित गरेका थिए। 

बुढीगंगा नगरपालिका–८ स्थित गिरिखेल्ने प्रावि, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र २ र त्रिवेणी नगरपालिकाका १ र ७, जगन्नाथ गाउँपालिका ४, सदरमुुकाम मार्तडीमा रहेको बडिमालिका ९ लगायतका मतदानस्थलमा विवाद भएको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउन्ड हवाई फायर समेत गर्‍यो। विवाद उत्पन्न भएका २३ ठाउँको मतदानमा धाँधली भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए।

‘विवादले रोकिँदैरचल्दै गरेर मतदान सम्पन्न भएको छ, एउटा ठाउँको मात्रै निर्वाचन अधिकृतले रोकेका छन्,’ उनले भने, ‘तर, मतदान फेरी गर्न माग गर्दै निवेदन परेको छ।’

उनका अनुसार सो बारेमा निर्वाचन अधिकृतलाई जानकारी गराइएको छ। ‘माथि जानकारी गराइएको छ, के निर्णय आउँछ सोही अनुसार अगाडि बढ्छौं,’ उनले भने। मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार खप्तड र हिमालीका मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ।

बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्। सदरमुकाम नजिकका ठाउँका मतपेटिका मार्तडी ल्याइएको छ।