लभ स्टेसनको तीन दिनमै दुई करोड

लभ स्टेसनको तीन दिनमै दुई करोड

पछिल्लो समय नेपाली चलचित्रको व्यापार राम्रो थिएन । शुक्रबारबाट मुलुकका १०४ वटा हलमा प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’बाट निर्माताहरूको आशा जागेको छ । यो फिल्मले तीन दिनमा २ करोडभन्दा माथिको व्यापार गरेपछि निर्माताहरूमा आशा जागेको हो ।

लभ स्टेसनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने, ‘हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोडभन्दा बढी र आइतबार ४४ लाखको व्यापार छ । आइतबारसम्मको व्यापार हेर्दा लभ स्टेसनले लभगभ २ करोडको व्यापार गरेको छ ।’ फिल्मको व्यापार सोमबार र मंगलबार पनि राम्रो भएको तर बक्स अफिस रिपोर्ट आइनपुगेको उनले बताए ।

स्कुल कलेज बिदा भएका कारण पनि चलचित्रले राम्रो व्यापार गरिरहेको शाहीले बताए । आफ्नो फिल्मले यही गतिमा एक सातासम्म व्यापार गर्दा लगानी सुरक्षित भएर केही मुनाफा हुने उनको दाबी छ ।

यसैबीच यो चलचित्रको वियोगान्त गीत ‘कहाँ राख्न सकें…’को भिडियो मंगलबार रिलिज गरिएको छ । अभिनेत्री जसिता गुरुङको अर्का अभिनेता प्रकाश शाहसँग विवाह हुने भएपछि जसिताको प्रेमी बनेको अभिनेता प्रदीप खड्काले प्रेम वियोगमा विवाह समारोहमा यो गीत गाउँछन् । अभिनेता प्रदीप ब्यान्डमा गाएको भूमिकामा छन् ।

दीपक शर्माको शब्द संगीत रहेको यो गीतलाई डेभिड शंकरले गाएका छन् । गीतको संगीत संयोजना रितेस गुरुङले गरेका हुन् ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाई कविरविक्रम शाही, र कृशु शाही (काफिया)ले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रमा प्रदीप र जसितासँगै प्रकाश शाह, रमेश बुढाथोकी, प्रिया रिजाल, सिरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डे, रिसु खरेलसहितको अभिनय छ ।