महेन्द्रनगर : भारतबाट काम गरेर घर फर्किरहेका मुगुका तीनजना नेपाली ब्रह्मदेव सीमा क्षेत्र नजिकै लुटिएका छन्। सीमा बजार टनकपुर हुँदै ब्रह्मदेव पुगेका मुगु लिम्ब्रु गाउँपालिका-२ का तीनजना सीमा नजिकैको जङ्गलमा लुटिएका हुन्।
भारतको अल्मोडाबाट काम गरेर घर फर्किएका तीनैजना मंगलबार बेलुका लुटिएका हुन्। उनीहरुको साथबाट नेपाली ४० हजार रुपैयाँ,तीनथान मोबाइल, लुगाकपडालगायतका सामानहरु लुटिएको उनीहरुले जानकारी दिए।
लुटिनेमा मुगुको लिम्ब्रु गाउँपालिका २ का ५० वर्षीय लालबहादुर शाही, १८ वर्षीय नवीन बुढा र १९ वर्षीय राजेश शाही रहेका छन्। तीनैजनालाई जुसमा नशालु पदार्थ खुवाएर लुटिएको खुल्न आएको छ।
"टनकपुर पुल पार गरेर नेपालतर्फ पुग्दा २ जनाले गर्मी भयो होला, जुस खानुस् भनेर दिए",५० वर्षीय लालबहादुरले भने,"जुसमा नशालु पदार्थ मिसाएको रहेछ,केही थाहा नभई खाइयो, होसमा आउँदा साथमा रहेको पैसा र सबै सामान लुटिसकेको थियो।"
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले तीनैजनाको जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको र आवश्यक अनुसन्धान भइरहेको बताए।