सामाजिक विकास मन्त्रालयको औषधी खरिद प्रक्रिया विरुद्ध अख्तियार उजुरी

सामाजिक विकास मन्त्रालयको औषधी खरिद प्रक्रिया विरुद्ध अख्तियार उजुरी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले औषधी खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा आर्थिक चलखेल र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

मन्त्रालयले आह्वान गरेको टेण्डरमा अनावश्यक कागजपत्रहरु माग गरेर कुनै एकजना आपुर्तिकर्तालाई मात्रै टेण्डर पर्ने गरी मुल्यांकन गरिएकोले टेण्डर प्रक्रिया रद्द गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगको केन्द्रीय कार्यालय काठमाण्डौंमा उजुरी परेको हो ।

खरीद ऐनको मापदण्ड बिपरित मुल्यांकन गरि मन्त्रालयले दुई करोड भन्दा कम मुल्यको आपुर्तिमा पनि पूर्व योग्यता कागज माग गरी आफु निकट ब्यवसायीलाई मात्रै आपुर्तिका लागि सहज हुने गरी टेण्डर मुल्यांकन गरेकोले त्यस्तो मुल्यांकन खारेज गरी टेण्डर प्रक्रिया रद्द गरी अर्को प्रक्रिया अपनाउन माग गर्दै बिभिन्न औषधी आुपर्तिकर्ताहरुले उजुरी गरेका हुन् । 

सामाजिक विकास मन्त्रालयले केही दिन अघि बिभिन्न औषधी, अस्पतालमा आवश्यक उपकरण र अक्सिजन प्लान्टका लागि गरेको टेण्डरमा सार्वजनिक खरीद ऐनको प्रावधान बिपरित पूर्व योग्यताको प्रमाणपत्र मागेर कम मुल्यमा टेण्डर हालेका आपुर्तिकर्तालाई अयोग्य बनाएर महङ्गो मुल्यमा आपुर्ति गर्नेलाई टेण्डर पारिएको छ  ।

उजुरीकर्ताहरुले यी सबै बिबरण राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको केनद्रीय कार्यालयमा उजुरी हालेका हुन् । टेण्डर खोलेपछि मन्त्रालयले आपुर्तिका लागि टेण्डर भरेकाहरुलाई उनीहरु अयोग्य भएकोबारे जानकारी समेत दिएको छैन् ।

अस्पतालमा आवश्यक उपकरण आपुर्तिका लागि टेण्डर भरेका ओम सर्जिकल सप्लायर्सका सञ्चालक उद्धब भण्डारीले मन्त्रालयले आफुलाई कुनै जानकारी नदिएको बताउनुभयो । उहाँले इ बिडिङ गर्नेहरुलाई उसको टेण्डर परे नपरेको बारे इमेलबाटै जानकारी गराउनुपर्ने प्रावधान रहे पनि मंगलबार सम्म आफुलाई कुनै जानकारी नआएको बताउनुभयो । 

मन्त्रालयले एक्स रे मेसिन, प्रयोगशालाका उपककरण आपुर्तिका लागि भ्याट सहित २ करोड ३७ लाखमा टेण्डर हालेको ओम सर्जिकललाई प्राविधिक मुल्यांकनमै कमजोर रहेको भन्दै दुई करोड ६३ लाखमा टेण्डर हालेको लाइफलाइन सप्लायर्सलाई टेण्डर पारिएको छ ।

यस्तै आइएमएनसिआई औषधी आपुर्तिमा भ्याटबाहेक ६७ लाख ४८ हजार ४ सय ३४ रुपैया हालेको तिवारी मेडिसिनको सट्टा भ्याट बाहेक १ करोड १७ लाख ७४ हजार ३ सय ५० मा आपुर्ति गर्छु भन्ने ड्रग सेन्टरलाई पारिएको छ । अक्सिजन प्लान्टका लागि सबैभन्दा सस्तोमा टेण्डर हाल्ने डाइग्नोकेम इन्टरनेशललाई नदिई धनगढीकै डिडि मेडिसिनलाई दिइएको छ । औषधी आपुर्तिमा प्राविधि पक्ष पहिले मुल्यांकन गर्दा प्राविधि रुपमा कागजपत्रहरु पु¥याउन नसकेका आपुर्तिकर्तालाई अयोग्य मानिएको र अयोग्य भइसकेपछि सस्तो मुल्यको अर्थ नहुने सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमाल बताउनुहुन्छ ।

जिएमपी सर्टिफिकेट पाएका औषधी कम्पनीहरुको समेत आधिकारिक पत्र खोजेर मन्त्रालयले सस्तो मुल्यमा औषधी आपुर्ति गर्न चाहने आपुर्तिकर्तालाई अयोग्य ठह¥याएको छ । आवश्यक कागजपत्रहरु पछि मागिएको र आफुहरुले पछि पेश गरेका कागजपत्रहरु लुकाएर एउटै र आफु निकट आपुर्तिकर्तालाई टेण्डर पार्ने गरी काम गरिएका कारण आफुले अख्तियारमा उजुरी दिएको तिवारी मेडिसिनका सञ्चालक करन बर्णवालले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका केही कर्मचारीको मिलेमतोमा एकै आपुर्तिकर्तालाई टेण्डर पार्ने गरी काम भएको हो । मन्त्रालयको टेण्डर परेका आपुर्तिकर्ता फरक फरक जस्ता देखिए पनि ति सबै ड्रग सेन्टरका सञ्चालक दुश्यन्त बस्नेतले औषधी आपुर्ति गर्ने ब्यवसायिक प्रतिष्ठानहरु हुन् ।