रेशमको शाख जोगाउलिन त रन्जीताले ?

रेशमको शाख जोगाउलिन त रन्जीताले ?

कैलाली क्षेत्र नम्बर– १ मा अहिले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र नेकपा एमालेबाट टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल चुनावी मैदानमा छन् । देशैभर सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धाको चर्चा भइरहँदा यहाँ त्यो बाहेक नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको चर्चा उत्कर्षमा छ ।

नागरिक उन्मुक्तिबाट यहाँ रञ्जिता श्रेष्ठ चौधरी उम्मेदवार छिन् । उनी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तको आरोपमा जेलमा रहेका रेशम चौधरीकी श्रीमती हुन् । 

रेशमले २०७४ सालमा भएको निर्वाचनमा फरार रहेकै अवस्थामा भारी मतका साथ यहाँबाट चुनाव जितेका थिए । उनी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४ सय ६ मतमात्र पाइन् । कांग्रेसकी ईश्वरी न्यौपानेको खातामा ११ हजार २ सय ३ मत खसेको थियो । 

प्रतिस्पर्धी उम्मेदवारलाई २१ हजारको फराकिलो मतान्तरले हराएको क्षेत्रमा अहिले रेशमकै श्रीमती रञ्जिता उम्मेदवार छिन् । उनलाई रेशमको विरासत कायम राख्न ठूलो चुनौती छ ।

प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएर पनि जनप्रतिनिधि बन्न नपाएका चौधरीको क्षेत्रमा अहिले पनि उनका उम्मेदवारलाई अन्य पार्टीले टक्कर दिनसक्ने अवस्था देखिँदैन । वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणामले पनि नागरिक उन्मुक्ति पार्टी अझै हौसिएको छ । कैलालीका १३ स्थानीय तहमध्ये चारवटा पालिका प्रमुख र तीनवटा पालिका उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले जितेका सबैजसो पालिका रेशम चौधरीको निर्वाचन क्षेत्रमा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर, जोशीपुर, जानकी र भजनी (केही क्षेत्र को प्रमुखमा नागरिक उन्मुक्तिले बाजी मारेको हो । टीकापुरबाहेकका अन्य तीन पालिका उपप्रमुख पनि नागरिक उन्मुक्तिले जितेको छ ।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सबैभन्दा बलियो नागरिक उन्मुक्ति नै रहेको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ । त्यस्तै राप्रपाले ३ हजार ५६१, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत पाएका छन् । 

यस्तो छ दलहरुको दाबी

२०७४ सालको मतपरिणाम र वैशाख ३० गतेको परिणामले यहाँ सबै मिल्दा पनि नागरिक उन्मुक्ति बलियो रहेको त्यसका प्रवक्ता दामोदर पण्डित बताउँछन् । अघिल्लोपटक जस्तै यसपटक पनि सजिलै उन्मुक्तिले जित्ने उनको दाबी छ । 

‘हामी जित्छौँ सजिलै । ०७२ सालको थरुहट आन्दोलनलाई बीचमै छाडेर हिँड्नुभएका मन्त्रीज्यूलाई सबैले चिनेका छन् । पहिचान विरोधीहरूलाई पहिचानवादीले भोट हाल्दैनन्, उनले भने, ‘अघिल्लोपटक रेशम एक्लै होमिनुभएको थियो । अहिले त सिंगो पार्टी छ । हामी सजिलै जित्छौँ ।’

नागरिक उन्मुक्तिले आफ्नो जित दाबी गरिरहेका बेला सत्ता गठबन्धनले पनि आफूलाई कमजोर ठानेको छैन । ‘निर्वाचन जित्छौँ । रामजनम पहिला पनि मन्त्री भएका कारण उहाँको पल्ला भारी छ’, कांग्रेस कैलालीका सचिव नृप सुनारले भने, ‘टीकापुर घटनालाई कानुनी रूपमा राजनीतिक मुद्दा बनाउने निर्णय भएको छ । यहाँ अब हामीले नै चुनाव जित्छौँ ।’

कांग्रेसले पूरै वडासम्मका समितिहरू सक्रिय पारेको बताउँदै सुनारले चौधरीको जित सुनिश्चित भएको दाबी गरे । यता एमालेका उम्मेदवार पूर्वमेयर तपेन्द्र रावलको पनि आफ्नो जित्ने दाबी छ । जातीय मत विभाजित भएर आफूले त्यसमा क्षेत्रीय मत पाउने र जित्ने उनको रणनीति छ । ‘हामी जित्छौँ । नेकपा एमालेले निर्वाचन जित्दैछु, एमाले कैलालीका उपसचिव लोकेन्द्र शाही भन्छन्, ुरञ्जिता श्रेष्ठ र रामजनम चौधरीको मत विभाजन हुँदा हाम्रो उम्मेदवार तपेन्द्र रावल चुनाव जित्दै हुनुहुन्छ ।’