इतिहासमा डोटी र डोट्याल

इतिहासमा डोटी र डोट्याल

डोटी । इतिहासकार भोजराज भट्टराई (अ हिस्ट्री अफ डोटी किङडम), जिप दुर्घटनामा मृत्युवरण गरेका प्रोफेसर डाक्टर जयराज पन्त (सन् २०१३) मा लिखित ‘फारवेस्टर्न रिजन अफ नेपाल इज कल्ड डोटी कल्चरल्ली’ (निबन्ध) र टीआर वैद्यको हिस्ट्री अफ नेपाललाई आधार मान्दा १३ औं शताब्दीमा सिञ्जा राज्यबाट कुमाउ राज्यको अधीनस्थ बन्न पुग्यो डोटी । कट्यौरी राजवंशका निरञ्जन मल्ल देवले त्यसपछि यो राज्यको व्यवस्थापन सम्हाले । उनको सेखपछि अस्कोटका अभय पालले पश्चिममा रामगंगा र पूर्वमा कर्णाली नदीसम्मको भूभागमा आफ्नो नियन्त्रणमा राखे, जसलाई राइकास नियन्त्रित राज्य भनिन्थ्यो । कट्यौरी राजघराना अधीनस्थ रहेको यो राज्य नेपालमा गाभिनुअघि (सन् १७९०) अर्थात् सन् १२३८ देखि १७९० सम्म २९ वटा राजाले राज्य गरेका थिए । अन्तिम राजा पृथ्वीपति शाही ५ वर्ष राज्य गरेर युद्ध मार्फत अपदस्थ हुन पुगेका थिए ।

पृथ्वीपति शाही र उनको सेताले अन्य बाइसी चौबीसीजस्तो गोर्खालीसँग आत्मसमर्पण गरेनन् । सन् १७९० मा सेती नदी किनारमा रहेको नारी–दाङ र डुम्राकोटमा डोट्यालहरू गोर्खाली सेनासँग भिडेका थिए । युद्धमा राजा पराजित भएपछि गोर्खालीहरूले रिस पोख्न डोटीका कतिपय ऐतिहासिक धरोहर नष्ट गरे । यसबाट पनि डोट्यालहरू बहादुरी, आत्मस्वाभिमान जोगाउन प्रतिकारमा उभिएको भन्ने बुझ्न सकिन्छ । सदियौँसम्म युद्ध लडेका डोट्याल तथा जुम्लीलाई ‘हाम्राविरुद्ध लडाइँ लड्ने’ भन्ने ईख साधेर गोर्खाली शासकहरूले सरकारको निर्णायक जिम्मेवारीबाट उनीहरूलाई शतकौं बाहिर राख्ने पक्षपातपूर्ण व्यवहार गरे । त्यस क्षेत्र समग्रमा तुलनात्मक विकासमा पछि पर्नुको कारकतत्त्व राज्यको पक्षपातपूर्ण व्यवहार थियो भन्ने बुझ्न गाह्रो छैन । नेपाली नवजागरणको समयमा आफ्नो खुट्टामा उभिएर केही डोट्यालहरूले ‘डोट्याल संस्कार र संस्कृति’ को जगमा आफ्नो पहिचान स्थापित गरे । उनीहरूमध्ये सहिदद्वय दशरथ चन्द र भीमदत्त पन्त र राजा जयपृथ्वीबहादुर सिंह र डा.केआई सिंह समग्र नेपाली इतिहासमा उज्वल नक्षत्रका रूपमा लिइन्छन् ।

डोट्याल एउटा सभ्यता हो । डोटी राज्य संस्कार–संस्कृति तथा आफ्नै भाषाको विकासका कारण धनी मानिन्छ । नेपाल राज्यको एकल–भाषा नीतिले पनि मेटाउन सम्भव थिएन । डोट्याली भाषालाई कुमाउनी भाषा पनि भनिन्छ । यो भाषा नै सुदूरपश्चिमभरी बोलिन्छ जो इन्डो–युरोपियन परिवारको मानिन्छ । सांस्कृतविद् महापण्डित राहुल सांकृत्यायनले डोटेली भाषालाई ‘कुमाउनी बोली’ को सज्ञा दिएका छन् जसलाई कट्यौरी राजघरानाले डोटीमा विस्तार गरेका थिए । सन् २०११ को जनगणनाअनुसार सुदूरपश्चिमका कुल ७ लाख ८७ हजार ८२७ व्यक्तिले डोटेली र २ लाख ७२ हजार ५२४ ले कुमाउनी ९बैतेडेली० बोली बोल्छन् । कैलाली र कञ्चनपुरमो राना थारू र दङ्गारु थारू भाषा बोल्छन् । रानाथारू हिन्दी डाइलेक्टबाट र दङ्गारु थारू भाषाको बोली भएको बताइन्छ ।

पुरातन नाच र गीत संगीत जस्तै ः छलिया, भदा, झोराछपेली, सौकाहरूको रंग–संस्कृति, बैरा गीत, देउडा र जागर आदि डोट्याल संस्कार र संस्कृतिका भाग हुन् । कट्यौरी कालमै सुरु भएको बहादुरी बखान झल्काउने गीत–संगीतलाई ‘जागरा’ भनिन्छ । डोटीमा यो संस्कृतिलाई निकै महत्त्व दिइन्छ । बैतडीमा झुसिया दमाईको जागर गीत संगीत भारतको कुमाउमा समेतको संस्कृति मानिन्छ । डोटीमा मुख्यतया गौरा (गमरा), कुमाउनी होली, विसु संक्रान्ति, हेरेला, रक्षाबन्धन (राखी), ओल्के संक्रान्ति, दसैँ, दिवाली, मकर संक्रान्ति आफ्नै संस्कृति हुन् जो कर्णाली पूर्वभन्दा निकै फरक ढंगले विस्तारित छन् ।

सन् १९५० मा नेपाललाई ३४ जिल्लामा बाँडिएको बेला यो प्रदेशलाई बैतडी, डडेलधुरा, डोटी तथा कैलाली र कञ्चनपुर चार प्रशासनिक क्षेत्रमा बाँडिएको थियो । सन् १९६२ मा राजा महेन्द्रले १४ अञ्चल ७५ जिल्लामा बनाए । त्यो बेला १२, ५५० वर्गकिलोमिटर भूभाग तथा १० लाख १४ हजार ३४९ जनसंख्या रहेको सेती अञ्चलको सदरमुकाम सिलगढी र धनगढी तोकियो । सन् १९९० पछि व्यवहारमा अञ्चलहरू प्रयोगविहीन भए । त्यसपछि ५ विकास क्षेत्रमा प्रशासनिक विस्तार गरियो । सन् १९९५ मा १९,५३९ वर्गकिलोमिटर क्षेत्रफल रहेको सुदूरपश्चिमाञ्चलको क्षेत्रीय प्रशासनिक कार्यालय दिपायलमा स्थापित गरियो । अञ्चल तथा विकास क्षेत्रीय मुकाम तोकिएपछि अर्बौं मूल्य खर्च गरेर संरचनाहरू (सडक, सञ्चार, शिक्षा, तथा प्रशासनिक निकाय भवनहरू) निर्माण भएका छन् र अझ पनि भइरहेका छन् ।

सन् २००८ मा पहिलो संविधानसभा निर्वाचन मार्फत मुलुक संघीयतामा जाने निश्चित भएपछि लगत्तैजसो भिन्नाभिन्नै पार्टीका शेरबहादुर देउवा, भीमबहादुर रावल र लेखराज भट्टको आन्तरिक मिलेमतोमा ‘अखण्ड’ सुदूरपश्चिमको नारा लाग्यो । कैलाली र कञ्चनपुरसमेतको साविकको सुदूरपश्चिमाञ्चलमै अक्षुण राख्नुपर्ने भित्री अभियान अन्ततस् सफल बनाइयो । आफ्नो र पारिवारिक राजनीतिक भविष्य पहाडमा देख्न छोडेका शेरबहादुर देउवाले भर्खरै सम्पन्न भएको संघीय निर्वाचनमा पत्नी डा।आरजु देउवालाई कैलालीको सदरमुकाम धनगढीबाटै चुनाव लडाएका थिए । पत्नी राणाले ‘स्थानीय’ बन्नका लागि चुनावको मुखमा ३ करोड रुपियाँमा धनगढीमा ‘महल’ खरिद गरेको समाचार व्याप्त भएको थियो । देउवा आफैँ पनि दोस्रो संविधानसभामा आरजु उठेकै क्षेत्रबाट चुनाव लडेर जितेका थिए । कैलाली रोजाइ उनको पारिवारिक भविष्यसँग जोडिएको देखिन्छ ।

नेता रावलका लागि पूर्वी कैलाली अबको निर्वाचनका लागि उर्वर क्षेत्र बनेको पर्यवेक्षकहरू ठान्छन् । घोडाघोडी पूर्वका नयाँ पुराना बस्तीहरूमा अछाम र डोटीबाट अटाईनअटाई उनका नाता–गोता, इष्ट–मित्र बसाइँ सरेर भित्रिएका छन् । दुई वर्षअघि नै एमाले प्रदेश कार्यालय बनाउन अत्तरियामा घडेरी खोज्न आदेश दिएका रावलको लक्ष्यभेदन अर्थ बुझेर तत्कालीन एमालेका क्षेत्रीयस्तरका नेता कार्यकर्ताले प्लट बनाएरै अत्तरिया वरपर घर–घडेरी इन्तजाम गरेका छन् । अत्तरियासहित उत्तर कैलाली निर्वाचन क्षेत्र रहेका लेखराज भट्टलाई नेता रावलको दूरदृष्टि मापन गर्न कुनै कठिनाइ थिएन । धनगढी–अत्तरिया ६ लेनको बाटो बनेर आगामी ४ वर्षपछि हुने स्थानीय सरकारको निर्वाचनमा अत्तरिया र धनगढी ‘महानगरपालिका’ बन्ने सम्भावनालाई बुझेका भट्टलाई राजनीतिक साख जोगाउन पनि क्षेत्रवादी हुन जरुरी थियो । यी ३ नेतालाई ‘धनगढी’ मा उभिन कुनै ज्योतिषशास्त्र भिडाउन जरुरत थिएन । यद्यपि डोट्याल संस्कृति तथा संस्कारमा पालित–पोषित यी तिनले जिउँदो–जाग्दो डोट्याल संस्कार–संस्कृति तथा राजनीतिक इतिहासलाई रछानमा गाडेर आफ्नो स्वार्थका लागि धनगढी मार्च गर्लान् भन्ने कुनै पनि डोट्याल संस्कृतिमा हुर्किएकाहरूले कल्पना गर्ने कुरै थिएन ।