धारिलो हतियार प्रहार गरेर मामाको हत्या

धारिलो हतियार प्रहार गरेर मामाको हत्या

मोरङको उर्लाबारी नगरपालिका–८ का एक जना युवकले धारिलो हतियार  (दाउ) प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले दाउले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेका हुन् । महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ हो । 

प्रहरीका अनुसार महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि सुजनले आइतबार राति ११ ४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । 

घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको हो । 
मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्याको कारण भने खुलेको छैन ।