कप्तान रोहित : जसले डेब्यू खेलमै भारतविरुद्ध चौका र छक्का बर्साए

कप्तान रोहित : जसले डेब्यू खेलमै भारतविरुद्ध चौका र छक्का बर्साए


सन् २०१६ मा नेपाल क्रिकेट संघ(क्यान) लाई क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले निलम्बनमा राखेको थियो । क्यानलाई निलम्बनमा राखेपछि आईसीसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने प्रतिबन्ध लगाएन ।

क्यान निलम्बनमा रहेकाले नेपाली राष्ट्रिय तथा उमेरस्तरको टोली 'ट्यालेन्ट हन्ट' नामबाट छनोट हुँदै आएको थियो । सोहीवर्ष श्रीलंकामा हुने यू–१९ एसिया कपका लागि नेपाली टोली निर्माणका लागि पनि त्यही उपाय अपनाइयो र ट्यालेन्ट हन्टबाट क्याम्प हुँदै राष्ट्रिय टोलीमा अटाएका थिए, १५ वर्षीय रोहित पौडेल । 

जसले शुक्रबारमात्रै राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी पाएका छन् । 

जसको यू-१९ बाट राष्ट्रिय टोलीको जर्सी लगाएको पहिलो खेल भने स्मरणीय छ । 

कोलोम्बोमा यू–१९ एसिया कपको तेस्रो संस्करण आयोजना भएको थियो । पहिलो खेलमा नेपाल आयोजक श्रीलंका विरुद्ध एक रनको झिनो अन्तरले पराजित हुँदा धेरै नेपालीको मन कुँडिएको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय टूरमा निस्किएका रोहितले जुन खेल बेन्चमै बसेर हेरेका थिए ।

दोस्रो खेलमा नेपालले उपाधि दाबेदार बलियो टोली भारतसँग सामना गर्नुथियो । भारतविरुद्ध फुटबल होस् या क्रिकेट । जुन खेल पनि रोमाञ्चक र प्रतिक्षित हुने गर्छ । 

यही खेलमा रोहितले ड्रिम डेब्यू गरे । नेपालको सुरुवात राम्रो भएन । टस जितेर ब्याटिङ गरेको नेपालका ब्याट्सम्यानहरुले  भारतीय बलरहरु सामू धेरैबेर टिक्न सकेनन् । नेपाल ८६ रनको स्कोरमा सुरुवाती ६ विकेट गुमाउँदै दयनीय स्थितिमा थियो । 

५० ओभरको खेलमा २४.४ औं ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा रोहित पौडेलले डेब्यू गरे । रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना गरे । ६८ रनको अर्धशतकीय पारी खेले । 

अझै रोहितले अन्तिम ओभरमा सनसनी मच्चाए । भारतीय बलर कमलेस नगरकोटीलाई अन्तिम ओभरमा तीन चौका र दुई छक्का प्रहार गरे ।

पहिलो बलमा कुनै रन नलिएका रोहितले दोस्रो बलमा छक्का, तेस्रो र चौथो बलमा चौका, पाचौं बलमा छक्का र, छैटौं बलमा चौका प्रहार गरेका थिए । 

त्यही इनिङबाट रोहितको चर्चा ह्वात्तै चुलियो । उनले यू-१९ टोलीको कप्तानी गरे । राष्ट्रिय टोलीमा डेब्यू गरे । राष्ट्रिय टोलीको उपकप्तान बने र शुक्रबार राष्ट्रिय टोलीको कप्तानमै छनोट भएका छन् । 

तत्कालिन कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दा लागेर पुर्पक्षका लागि थुनामा परेपछि क्यानले नयाँ कप्तानमा रोहितलाई चयन गरेको हो । सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईबाट रोहितले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । डिभिजन दुईको उपविजेता बन्दै नेपाल मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा पुगेको थियो । उक्त प्रतियोगितामा आठौं हुँदै नेपालले पहिलोपटक एकदिवसीय अन्तराष्ट्रियको उपलब्धि हासिल गरेको थियो । 

डिभिजन दुईमा नेपालको पहिलो खेल नामिबियासँग थियो र सोही दिन(फ्रेब्रुअरी ८, २०१८) मा रोहितले पहिलोपटक राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । 

२०७५ साउनमा १५ वर्ष ३३५ दिनमा नेदरल्याण्ड्सविरुद्ध पहिलो ओडीआई खेल्दै उनले   डेब्यू गर्दै उनले नेपालबाट ओडीआई खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए । 

त्यसपछि बिरलै राष्ट्रिय टोलीबाट छुटेका २० वर्षीय रोहितले दुई महिनाअघि केन्या भ्रमणमा पनि नेपाली टोलीको कप्तानी गरेका थिए । तत्कालिन कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिज गएपछि रोहितले गरेको कप्तानीमा नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा क्लिनस्विप गरेको थियो । 

लगत्तै सन्दीपमाथि बलात्कार मुद्दा लागेपछि क्यानले उनलाई बर्खास्त गरेको थियो । 
 
त्यसपछि सोमबार देखि घरेलु मैदानमा युएईसँग हुने तीन ओडिआई खेलअघि क्यानले गत कार्तिकमा उपकप्तान नियुक्त भएका रोहितलाई कप्तानी सम्पिएको हो  ।

रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन् । त्यस्तै रोहितले २१ टि-२० आई र ४० लिष्ट ए खेल खेलेका छन् ।