सन्दीपविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि दियो आदेश

सन्दीपविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि दियो आदेश

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको छ। शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो। 

सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको हो। गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए। उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए। 

सन्दीपले किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए। अदालतले ती कागजातको वैधानिकता बारे थप प्रमाण संकलन गर्न भनेको हो। 

सरकारी वकिल कार्यालयलाई प्रहरी मार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ। जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले भनेको हो। 

यस्तै, किशोरीको नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको छ। किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ।  सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।