कम्युनिष्ट ‘किल्ला’ दार्चुला : २३ वर्षपछि विरासत फर्काउने कांग्रेस दाउ

कम्युनिष्ट ‘किल्ला’ दार्चुला : २३ वर्षपछि विरासत फर्काउने कांग्रेस दाउ

दार्चुला । दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेश ठगुन्ना आसन्न प्रतिनिधि सभा चुनावमा आमनेसामने हुँदैछन्।


करिब एक दशक (२०७० को चुनाव) पछि बडू र ठगुन्ना दार्चुलामा यसपटक तेस्रोपटक प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मन्त्री बडूलाई माओवादी केन्द्रको समर्थन छ। ठगुन्ना सत्ता गठबन्धन विरुद्ध एमालेबाट एक्लै चुनावी मैदानमा छन्।


वि.सं.२०६४ सालको पहिलो संविधान सभा चुनावमा पहिलो पटक बडू र ठगुन्ना एक अर्काका प्रतिस्पर्धी बनेका थिए। त्यस बेला दार्चुलामा माओवादीका लक्ष्मदत्त जोशी विजयी भएका थिए। एमालेका ठगुन्ना दोस्रो र कांग्रेसका बडू तेस्रो स्थानमा थिए।

०७० सालको दोस्रो संविधान सभामा बडूलाई पराजित गर्दै ठगुन्नाले पहिलो पटक संसद यात्रा तय गरेका थिए। त्यस पछि अहिले फेरी उनै ठगुन्ना र बडूबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुँदैछ।

दार्चुलामा सत्तारुढ गठबन्धनका तर्फ प्रदेश सभा (१) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा (२) मा माओवादी केन्द्रका नेता समेत रहेका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी (सन्तोष) उम्मेदवार छन्।


यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (१) मा हरदेव जोशी र प्रदेश सभा (२) मा रामदत्त जोशी उम्मेदवार छन्।


स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा दार्चुलामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिएको छ। गठबन्धन विरुद्ध एक्लै चुनावमा होमिएको एमालेले स्थानीय तह चुनावमा दार्चुलामा ‘अद्धभुत’ नतिजा ल्याएको छ।

९ पालिकामध्ये एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका गरेर ५ पालिकाको प्रमुखमा बाजी मारेको छ। 

अन्य ४ पालिका अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिका प्रमुख पद जित्न सकेन।

यस्तै ९ पालिकाका कूल ६१ वडामध्ये ३४ वटामा एमालेले जितेको छ। गठबन्धनमा आबद्ध कांग्रेसले १७ र माओवादी केन्द्रले १० वटा वडामा जितेका छन्। सत्ता गठबन्धनले जितेको कूल वडा संख्या २७ छ। जुन एमालेको भन्दा कम हो।

स्थानीय तहको मतपरिणाम हेर्दा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धन र एमालेबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको वडागत मत २९ हजार ३९७ छ। यस्तै कांग्रेसको २१ हजार ५५४ हुँदा माओवादी केन्द्रको ७ हजार ८८१ छ। अन्य राजनीतिक दलको उपस्थिति भने कमजोर छ।