निर्वाचन : चार मतपत्र, चारवटै मतपेटिका, ७७ वटै जिल्लामा निर्वाचन सामग्री ढुवानी

निर्वाचन : चार मतपत्र, चारवटै मतपेटिका, ७७ वटै जिल्लामा निर्वाचन सामग्री ढुवानी

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रका लागि अलगअलग मतपेटिकामा मत खसाल्ने व्यवस्था हुनेछ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न मतपत्रमा राखिएको छ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय गरेको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए ।

७७ वटै जिल्लामा निर्वाचन सामग्री ढुवानी :

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरूमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब सात जिल्लाको मतपत्र छपाइ बाँकी

आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ । यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ ।

आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ । हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ ।