सुदूरपश्चिममा दसैँ तिहार अवधिमा २४ सवारी दुर्घटना

सुदूरपश्चिममा दसैँ तिहार अवधिमा २४ सवारी दुर्घटना

धनगढी । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको अवधिमा २४ वटा सवारी दुर्घटना भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार सो अवधिमा १४ वटा मोटरसाइकल, ५ वटा जिप र कार, २ वटा बस र बाँकी अन्य सवारी साधन रहेका छन्।

उक्त दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। उनीहरू मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना सामान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ । दसैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन्। 

यस वर्ष दसैँ तिहारको अवधिमा गत वर्ष भन्दा कम सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गत वर्ष दसैँ तिहारको समयमा ३३ सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।