माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उठाएको जनाएको छ । उसले यसअघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको थियो भने संविधान जारी गर्ने बेलामा यो विषयमा फरकमत राखेको थियो ।

माओवादीले घोषणापत्रमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम आउँदो संसदबाट बनाउने प्रतिबद्धतामा जोड दिएको छ ।

एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ । नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ।

विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको एकीकृत समाजवादीले जनाएको छ । 

यस्तै, राप्रपाले बिहान साढे ११ बजे नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ । नेपाली कांग्रेसले अस्ति शनिवार घोषणापत्र सार्वजनिक गरिसकेको छ।