नेपालमा ९ हजार ७६७ झोलुंगे पुल सञ्चालनमा

नेपालमा ९ हजार ७६७  झोलुंगे पुल सञ्चालनमा

स्थानीय पूर्वाधार विभागले हाल नेपालभर सञ्चालनमा रहेका झोलुंगे पुलको संख्या ९ हजार ७६७ पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभर ५९४ वटा झोलुंगे पुल निर्माण भएको बताएको छ । विभागका तुइन तथा झोलुंगे पुल महाशाखा प्रमुख प्रवेश रेग्मीले गत आर्थिक वर्षमा ५९४ झोलुंगे पुल निर्माण भएको जानकारी दिए ।

यद्यपि स्थानीय पूर्वाधार विभाग स्थापना भएको लामो समय नभएकाले पहिलेका वर्षमा के–कति झोलुंगे पुल बने, त्यसको वार्षिक तथ्यांक विभागसँग नभएको उनको भनाइ छ । विभागले चालू आवमा देशभर ७३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त योजना कार्यान्वयनको चरणमा समेत पुगेको छ ।

स्थानीय तह, प्रदेश, संघ तथा स्थानीय पूर्वाधार विभागले पुल निर्माण गरिरहेको उनले बताए । विभागले थप ८०० वटा नयाँ झोलुंगे पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेकामा ११० वटा पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।

तर विभागले हालसम्म भत्किएका तथा प्रयोग गर्नै नमिल्ने अवस्थाका झोलुंगे पुलबारे अध्ययन नगरिएको बताएको छ । नेपालमा थुप्रै खोलानाला र नदी छन् ।

यस्तो अवस्थामा सर्वसाधारणको पैदल यात्रा सुरक्षित बनाउन झोलुंगे पुलको महत्त्व छ । तर नेपालमा कति झोलुंगे पुल वा मान्छे हिँड्ने पुल चाहिन्छ भन्ने विषयमा अझै अध्ययन भएको नभएको रेग्मीले बताए ।