बैतडीमा आयोजित बृहत स्वास्थ्य शिविरबाट साढे दुई हजार नागरिकले स्वास्थ्य सेवा लिए

बैतडीमा आयोजित बृहत स्वास्थ्य शिविरबाट साढे दुई हजार नागरिकले स्वास्थ्य सेवा लिए

बैतडीको पाटनमा ३ दिने बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बैतडी समाज कैलालीको आयोजनामा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

२०७५ साल बैसाखमा स्थापना भएको बैतडी समाज कैलालीले कैलालीमा दुई पटक रक्तदान कार्यक्रम र एक पटक आँखा शिबिरको आयोजना गर्दै बर्षको अन्तमा पुख्र्यौली जिल्ला बैतडीमा बृहत स्वास्थ्य शिबिरको आयोजना गरेको हो ।

पुख्र्यौली घर बैतडी भई हाल कैलालीमा बस्दै आएका व्यक्तीहरु मिलेर समाज गठन गरी सामाजिक कार्यमा सो समाज सक्रिय भएको छ ।

२१ गतेदेखी २३ गतेसम्म बैतडीको पाटनमा सञ्चालन भएको बृहत स्वास्थ्य शिबिरबाट २ हजार ४ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका उपाध्यक्ष गजेन्द्र बिर चन्दले बताए । उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए ।

शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिएका छन् । गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको पाटनका स्थानीय मनिसा बिष्टले बताइन् । यस्ता शिबिरले निरन्तरता पाएमा गाउँघरमा रोग लुकाएर बस्ने परिपाटीको अन्त्य हुने उनको भनाई छ ।