बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह

बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह

काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् ।सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गर्नुभयो ।

व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । 

काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ । काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले जानकारी दिनुभयो । 

जंगली पन्छीमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने उहाँको भनाइ छ ।  बर्डफूलू भएर मरेका पन्छीलाई तत्कालै गाड्ने र सक्रमण देखिने वित्तिकै नष्ट गर्ने, फार्मको जैविक सुरक्षा गर्ने, अरु पन्छीको पनि खोर ब्यवस्थित गर्नेलागयतका काम भइरहेको उहाँले बताउनुभयो । 

बाहिरी देशका कतिपय ठाउँका पन्छीमा पनि बर्डफ्लूको संक्रमण देखिएकाले ती देशबाट आउने मौसमी पन्छीले पनि नेपालमा बर्ड फ्लू सारेको हुनसक्ने उहाँले बताउनुभयो ।

काठामाण्डौ  भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन् । यस्तै मोरङका दुईवटा र सर्लाहीको एउटा कुखुरा फार्ममा पनि बर्ड फ्लू पुष्टि भएको छ । ती क्षेत्रका धेरैजसो २४ देखि २८ हप्ताका लेयर जातका कुखुरामा बर्ड फ्लू भेटिएको पशुसेवा विभागले जनाएको छ ।