निर्मला पन्तका हत्यारालाई कारबाही गरः कांग्रेस

निर्मला पन्तका हत्यारालाई कारबाही गरः कांग्रेस

कञ्चनपुरः नेपाली कांग्रेसले सरकारसँग निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ। 

कांग्रेसले बुधवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत ज्ञापनपत्र बुझाउँदै हत्यामा संलग्नलाई कारबाहीको माग गरेको हो। १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको प्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

‘प्रहरी प्रशासनमा कुनै मानवीय संवेदना नदेखिनु, घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कानुनी कारबाही होस भनी विभिन्न पक्षबाट आएको आवाजलाई पनि स्थानीय प्रहरी प्रशासनबाट निर्मम दमन गरी दबाउन खोज्नु, लासमाथि राजनीति गर्‍यो भन्ने सत्ता पक्षका केही जिम्मेवार व्यक्तिको अभिव्यक्तिले कतै रक्षक नै भक्षक हुन् कि भन्ने शंका उत्पन्न हुन गएको छ,’ स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ। 

कांग्रेस केन्द्रीय सदस्य एनपी सावदको नेतृत्वमा गएको कांग्रेस नेताहरूको टोलीले बुझाएको ज्ञापनपत्रमा छटनाको सत्य तथ्य पत्ता लगाएर पीपिडटलाई न्याय र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याई नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकार ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ। 

कांग्रेसले ज्ञापनपत्र मार्फत सरकारलाई आफूहरूको माग बेवास्ता गरिए पञ्चात उत्पन्न हुनसक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुनु पर्ने चेतावनी समेत दिएको छ। 

ज्ञापनपत्रमा कांग्रेस केन्द्रीय सदस्य सावद, पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी, पूर्व सभासद् तथा पूर्व जिल्ला सभापति बहादुरसिाह थापा र जिल्ला सभापति हरिप्रसाद बोहराले हस्ताक्षर गरेका छन्। 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको साउन १० गते बलात्कार पछि हत्या भए पनि प्रहरी अपराधी नजिक पुग्न नसकेको आफन्तहरूले आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन यता कञ्चनपुरमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन्।