चुनावी चर्चा : शीर्ष नेता नै असुरक्षित !

चुनावी चर्चा : शीर्ष नेता नै असुरक्षित !

काठमाडौँ । चुनावी चर्चा ह्वात्तै बढेको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीचमा चुनावी घोचपेच र घरदैलो अभियान पनि प्रतिस्पर्धात्मक रुपमै अगाडि बढिरहेको छ। यसपटक कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई धेरैले चासो पूर्वक हेरिरहेका छन्।

अनि एमाले र राप्रपाको गठबन्धन पनि धेरैका लागि चासोको विषय छ। चुनावी सरगर्मी बढेका बेला सत्ता गठबन्धनका नेताहरु एक अर्कालाई आश, भरोसाभन्दा शंका गर्न थालेका छन्। जसको मारमा शीर्ष नेताहरु पनि छन्।

स्थानीय तहको चुनावमा काग्रेस नेताहरुले देखाएको दोहोरो चरित्रले गर्दा यसपटकको चुनावमा पनि जितभन्दा बढी हार हुने हो कि भन्ने चिन्तामा माओवादी र एकीकृत समाजवादी नेताहरुको चिन्ता छ। किनकि माओवादी र समाजवादी चुनाव जित्नका लागि पूर्ण रुपमा कांग्रेसको भरमा छन्।

तर कांग्रेस नेताहरु भने कम्युनिष्टलाई भोट नहाल्ने पक्षमा छन्। कम्युनिष्टलाई कहिल्यै विश्वास गर्न नसकिने भन्दै कांग्रेस नेताहरुले आफ्नो आदर्श नेताहरुको भनाई पछ्याउँदै आएका छन्। तर प्रतिपक्षमा थन्किएको पार्टीलाई कम्युनिष्ट भरथेगमै सरकारमा पुर्याएका कारण सभापति शेरबहादुर देउवा लगायतका नेताहरु माओवादी र समाजवादीप्रति ‘सफ्ट’ छन्।

तर यो क्रम तल्लो स्तरका कार्यकर्तामाझ पुग्न सकिरहेको छैन। जसकारण सत्ता गठबन्धन र चुनावी तालमेल भए पनि कांग्रेसीले कम्युनिष्टलाई भोट हाल्ने सम्भावना न्यून देखिन्छ। जसको असर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलकै शीर्ष नेतालाई परेको छ।

त्यो भन्दा बढी यसपटक स्थानीय तहको चुनावमा बालेन जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि बुढा नेतालाई बिदाइ गर्न भन्दै महिनौदेखि ‘नो नट अगेन’ अभियान चलिरहेको छ। बुढा नेताहरुले नेपालमा राजनीतिक भ्रष्टाचार र विकृति मात्रै मौलाएको भन्दै आम नेपाली नै अहिले पार्टी र बुढा नेताको विरोधमा छन्। जसको दोष शीर्ष नेताकै टाउकोमा छ।

सुरक्षित शीर्ष नेता नै असुरक्षित !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव लडिरहेका छन्। झापा ५ मा ओलीले चुनाव लडिरहँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार छन्। राप्रपासँग गठबन्धन गरेको एमालेलाई राप्रपाकै भोट नआउने चिन्ता छ। अनि राप्रपाले पनि एमालेले आफूलाई जिताउँछ भन्नेमा कमै विश्वास छ।

पाँच वर्षअघि प्रचण्ड बहुमत ल्याएर पनि दुई पटक संसद् विघटन गर्ने धृष्टता गरेका ओली यसपटक भित्रभित्रै धेरै ठूलो त्रासमा छन्। किनकि दोस्रो पटक कम्युनिष्टले ऐतिहासिक बहुमत पाएर सरकार बनाउँदा त्यसलाई जोगाउन नसकेका ओली प्रतिगमनका नायक छन्।

जसले राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतको पनि दुरुपयोग गरेका छन्। जसको मूल्य उनले चुकाइसकेका छन्। तर उनले वास्तविक मूल्य चुकाउने ठाउँ चुनाव हो। उनको विगतका कामले गर्दा यसपटक शीर्ष नेता भए पनि उनी झापामा सुरक्षित छैनन्।

ओलीसँग लेखक युग पाठक तथा युवा अभियन्ता खुश्बु ओली चुनावी मैदानमा छन्। ओलीको क्षेत्रमा एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भए पनि यतिबेला अध्यक्ष ओलीलाई एमाले कार्यकर्ता पूर्ण रुपमा सहयोग गर्नेमा शंका छ।

एमाले फुटेर चुनावमा होमिएकाले पनि यसपटक ओलीलाई झापामै चुनाव जित्न सकस छ। त्यसमाथि स्वतन्त्र उम्मेदवारको लहर झापा ५ मा झन् ठूलो देखिन्छ।

यस्तै माओवादी अध्यक्ष प्रचण्ड चितवन छाडेर गोरखा २ पुगेका छन्। गोरखा २ मा बाबुराम र नारायणकाजीको चुनावी क्षेत्रलाई आधार मानेर प्रचण्ड गोरखा पुगेका हुन्। गोरखाका स्थानीय र मतदाताले रुचाएका उम्मेदवार बाबुराम भट्टराई हुन्।

उनले चुनाव जित्नैका लागि जसपा छाडेर माओवादी प्रवेश पाएका थिए। तर उनले चुनाव नलड्ने घोषणा गरे। अरु ठाउँमा जस्तै गोरखामा पनि चुनावी तालमेल छ। चितवनमा कांग्रेसले भोट हाल्दैन भनेर प्रचण्ड गोरखा पुगेका हुन्।

गोरखामा पनि उनी कांग्रेसले पूर्ण रुपमा सात दिनेमा शंका छ। खासगरि कांग्रेसको शेखर कोइराला पक्ष प्रचण्डका विरुद्धमा छ। जसको डरले प्रचण्ड चितवन छाडेर गोरखा पुगेका छन्, त्यो डर उनी गोरखामै चुनाव लड्दा पनि महसुस गरिरहेका छन्।

माओवादी आन्दोलन कमजोर बन्दै गइरहेका बेला प्रचण्डको राजनीतिक भविष्य आफ्ना कार्यकर्ताभन्दा अर्को पार्टीमा निर्भर हुन थालेपछि उनी असुरक्षित महसुस गर्न थालेका छन्।

त्यसमाथि स्वतन्त्र युवा अब्दुस मिया एमाले प्रवेश गर्दै प्रचण्डविरुद्ध गोरखा पुगेर चुनाव लडिरहेका छन्। ओलीसँग विशेष टिप्स लिएर प्रचण्ड हराउन गोरखा पुगेका मिया पनि प्रचण्डका लागि चुनौती छन्।

यस्तै डडेलधुराबाट चुनाव लडिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि यतिबेला त्रासमा छन्। गृहजिल्लामै देउवाविरुद्ध कांग्रेस बीपी पार्टी गठन गरेका कांग्रेसी सक्रिय छन्। जसको नेतृत्व कर्ण मल्लले गरिरहेका छन्।

जो देउवा छाडेर एमालेसँग तालमेल गरिरहेका छन्। देउवालाई हराउनैका लागि कर्ण मल्ल, एमाले र अरु पार्टीको पनि कुरा मिल्ने सम्भावना छ। पछिल्लो समय शेखर कोइराला पक्ष बलियो बनेर आएका बेला देउवा आफ्नो गृहजिल्लामा विगतजस्तो ढुक्कले चुनाव जित्ने अवस्थामा छैनन्।

त्यसमाथि स्वतन्त्र युवा सागर ढकाल देउवाको चुनावी क्षेत्रमा त्रिपाल टाँगेरै चुनाव प्रचार गरिरहेका छन्। उनको जोडबल जसरी पनि देउवालाई हराउने भन्ने छ। उनको उम्मेदवारीलाई धेरै युवा र अभियन्ताको समर्थन छ। यसले देउवालाई चुनौती थपेको छ।

पार्टी नेता, कार्यकर्ता र सत्ता प्राप्तिका लागि सत्ता गठबन्धनमा चुनावी तालमेल गरेका शीर्ष दलका शीर्ष नेता पनि यस पटकको चुनावमा सुरक्षित देखिँदैनन्। स्वतन्त्र लहरले उनीलाई डर मात्रै पैदा गराएको छैन, विगतमा शक्तिमा हुँदा विवेक पुर्‍याएर निर्णय नगर्दा त्यसैको आलोचनाले अहिले राजनीतिक विरासत सकिन्छ कि भन्ने चिन्ता पनि छ।