भीम रावलको टिकट पाएका बोहरा भन्छन् : चुनाव लड्ने मनस्थिति नै थिएन, पार्टीले टिकट थमायो

भीम रावलको टिकट पाएका बोहरा भन्छन् : चुनाव लड्ने मनस्थिति नै थिएन, पार्टीले टिकट थमायो

नेकपा एमालेबाट अछाम क्षेत्र १ बाट प्रतिनिधिसभा उम्मेदवार झपट बोहराले आफूलाई चुनाव लड्ने मनस्थिति नहुँदानुहँदै पनि पार्टीले टिकट थमाएको बताएका छन् । 

एमाले पूर्वउपाध्यक्ष भीम रावल एकल सिफारिसमा परेको उक्त क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले भने रावललाई टिकट नदिएर बोहरालाई टिकट थमाएका थिए । धनगढीखबरसँग कुरा गर्दै बोहराले भीम रावललाई आफैले सिफारिस गरेर पठाएको र यसवर्ष आफ्नो चुनाव लड्ने मनस्थिति नभएको बताएका छन् । 

‘भीम रावलको क्षेत्रबाट टिकट पाउने सम्भावनै थिएन । पहिले म आफैले उहाँ(रावल)लाई सिफारिस गरेको हो,’ बोहराले धनगढीखबरसँग भने, ‘योवर्ष म मानसिक रुपमा चुनाव लड्न तयार छैन पनि भनेको हुँ । के गर्ने पार्टीले मलाई टिकट नै दिइसकेपछि मैले जिम्मेवारी लिने स्थिति आइलाग्यो ।’

तत्कालिन नेकपा अलग हुँदा बोहरा माओवादी केन्द्र छाड्दै एमालेमा समाहित भएका थिए । यता अध्यक्ष ओलीको आलोचना गर्दै आएका र ओलीले संसद विघठन गर्दा विपक्षमा उभिएका रावललाई भने जिल्ला, प्रदेश कमिटिले उक्त क्षेत्रबाट एकल सिफारिस गरेपनि टिकट पाएनन् । 

बोहराले रावलसँग आफ्नो केही कुराकानी पनि नभएको र पार्टीले जिम्मेवारी दिएपछि भाग्ने कुरा पनि नभएको बताए । 

‘पार्टीले गरेको निर्णयलाई जिम्मेवारीबाट भाग्नुपनि भएन । पार्टीले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै यसलाई कार्यान्वयनको चरणमा जानुपर्छ भनेर सबैबाट आएपछि म अगाडि बढेको हुँ,’ बोहराले धनगढीखबरसँग भने, ‘पार्टीले आन्तरिक रुपमा जिम्मेवारी दिने कुरा हो । हामी आन्तरिक रुपमा यसलाई हल गर्छौ ।’

आफ्नो टिकट खोसिएपनि भीम रावल हालसम्म सार्वजनिक रुपमा त्यसबारे बोलेका छैनन । रावलले बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै आफ्ना सन्दर्भमा उठेका अनेक सवालको जवाफ दिने बताएका छन् । बोहराले रावल आफ्नो अभिभावक र नेता पनि भएकाले सहयोग हुनेमा ढुक्क रहेको बताउँछन् ।  

‘उहाँले असहयोग गर्नुभएको छैन । बेलाबेलामा उहाँसँग मेरो कुराकानी पनि भइरहन्छ,’ बोहराले भने, ‘उहाँ मेरो अभिभावक, नेता हुनुहुन्छ । अभिभावक र नेताले अन्यथा गर्ने वा पार्टी निर्णय विपरित जाने कुरा म कहिलेपनि चिताउँदिन । आफ्नो पार्टीको उम्मेदवारलाई जिताउँनका लागि भीम रावल प्रतिबद्ध भएर लाग्नुहुन्छ । उहाँको साथ पाउनेमा म विश्वस्त छु ।’