थारु बस्ति झुम्यो सखियामा

थारु बस्ति झुम्यो सखियामा


यतिखेर कैलाली र कञ्चनपुरको थारु बस्ति सखिया नाचले गुञ्जायमान भएको छ । साँझ पर्नासाथ घन्कले मादलको तालमा छ्वान छ्वान बज्ने मजैराको धुनले थारु गाउँमा रौनकता बढेको छ । 

दशै नजिकिएसंगै कैलाली र कञ्चनपुरमा रहेका थारु बस्तिहरुमा युवतीहरु सखिया नाचमा झुमेका छन् । प्रायः साँझपख नाचिने यो नाच आज महाअष्टमीमा भने रातभर नाचेर रात कटाउने गरिन्छ । हातमा रंगिबिरंगी रिवनको भुरभुराले सजिएको मजैरा, बुट्टेदार लेहेंगा, सेतो फरिया र चोलियामा सजिएका युवती नवमी र विजया दशमीको दिनमा भने दिउँसभरी गाउँको प्रत्येक घरघरमा गएर लहरैमा लाइन मिलाएर मादलको थरिथरी तालमा पैया लाग्ने गर्छन् । यो नाचमा भगवान श्री कृष्णको कथा गित मार्फत प्रस्तुत गरिन्छ । 


यो नाचमा मुख्य २ जना मडरिया (मादल बजाउने युवा) हुनछन् । मुख्य र सहायक (अग्वा मडरिया र पछ्वा मडरिया) । मडरियाले बादलको ताल परिवर्तन गर्ने बित्तिकै नाच्नेले पनि मैया बदल्छन् । नाच्ने युवतीमा पनि एकजना मोह्रिन्या (गितको टुक्का उठान गर्ने गायिका) हुन्छ । २ जना भाका छोप्ने (पज्गीन्या र जेडगोह्या) हुन्छन् ।    


पहिले अट्वारी पर्वको भोलिपल्टबाट कोजाग्रत पूर्णिमा सम्म नाचिने सखिया नाच आजभोली भने दशैको मुखमा आएर मात्र नाच्ने गरेका छन् । अध्ययन र कार्यव्यस्तताले दशै नजिकिएपछि  मात्र नाच्न सुरु गर्ने गरेको कृष्णपुर नगरपालिका ९ चपरतला कञ्चनपुरकी बुध्नी चौधरीले बताइन् । उनले भनिनर्् पहिले थारु समुदायका युवती स्कुल पढ्दैनथे र पो अट्वारीको भोलीपल्टबाट नाच्न सुरु गर्दथे । आजभोली सबै युवती स्कुल कलेज जान्छन् कोही जागिरे छन् लामो समय सम्म नाच्न सबैलाई समय छैन” ।  


कृष्णपुर चपरतलाकै गजराज डगौरा भन्छन दशैको दिन बाभरीफूलको माला, कानमा जमरा निधारमा रातो टिका लगाएर आँगनभरी छोरीचेलीहरु नाच्दा मनै आनन्दित हुन्छ हाम्रो सखिया, मघौटा, मुंग्रह्वा, छोक्रा, लठ्ठह्वा, झुम्रा नाच आहा लाग्छ विश्वमा थारु जाति जत्तिको कला र संस्कृतिमा धनि कुन जाति छ”।


यस्तै गाउँघरमा सखियाको मादल नघन्किदा सम्म दशै आएजस्तो आभाष हुदैन गोदावरी नगरपालिका फकलपुरका सिताराम चौधरीलाई । उहाँ आफूले युवा अवस्थामा अग्वा मडरिया(मादल बजाउने नाइके) भएर सखिया नाच नाचेको सम्झदै भन्नुभर्यो अहिले त के नाच हुन्छ र? जम्मा सातादिन त हो । हाम्रोपालामा हो महिनौ दिन सम्म मादल ठटाउदा ठटाउदै हातमा फोका पथ्र्यो । रातभरी नाच दिनभरी धान काट्ने । अब त न पहिला जस्तो खासै नाचगान रमाइलो हुदैन” । मौलिक संस्कृति हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाले अबको पुस्ताले डिजे डान्स मात्र नभई आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।