लभ स्टेसनले पायो एकल रिलिज

लभ स्टेसनले पायो एकल रिलिज

चलचित्र लभ स्टेसन शुक्रबारबाट रिलिज हुने भएको छ । यो साता नेपाली चलचित्र लभ स्टेसन मात्र रिलिज हुन लागेको हो । यसअघि हरेक साता दुई नेपाली चलचित्र रिलिज हुने गरेका थिए ।

चलचित्र मुलुकका १०१ वटा हलबाट शुक्रबारदेखि रिलिज हुने प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । काठमाडौंमा ४० वटा र मोफसलमा ६१ वटा हलबाट चलचित्र रिलिज हुने उनले बताए ।

अग्रज निर्देशक उज्ज्वल घिमिरेले चलचित्रलाई निर्देशन गरेका हुन् । आफ्नो चलचित्र सांगीतिक प्रेम कथामा आधारित रहेको उनले बताएका छन् । सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले नयाँ र पुरानो दुवै स्वाद समेटेको पनि यी निर्देशकको भनाइ छ ।

यसअघि ‘लिली बिली’बाट चर्चा कमाएका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी यस चलचित्रमा छन् । प्रदीपले भने, ‘विगतका फिल्ममा म विशुद्ध प्रेमीका रूपमा प्रस्तुत हुने गरेको थिएँ । तर, यसपटक केही जिम्मेवार सामाजिक भूमिकामा पनि छु ।’

आफ्नो भूमिकाबारे अभिनेत्री जसिताले भनिन्, ‘यो चलचित्रमा मैले रानी पात्रको भूमिका निभाएकी छु । विगतका फिल्मभन्दा यसमा मेरो भूमिका निकै फरक र एउटा सम्पन्न परिवारकी युवतीको भूमिकामा छु ।’

प्रदीप र जसितासँगै चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

चलचित्रमा अर्जुन जीसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । त्यस्तै, आलोक शुक्लाको छायांकन तथा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

लभ स्टेसन निर्माण पक्षका तर्फबाट चलचित्र प्रदर्शनको पूर्वसन्ध्या पारेर धुमुर्स–सुन्तली फाउन्डेसनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि बिहीबार ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

लभ स्टेसनको नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम पनि सो खेल मैदान निर्माणका लागि प्रदान गरिने घोषणा प्रस्तुतकर्ता गोविन्द शाहीले गरेका छन् । यसअघि पनि आफूहरूले विभिन्न सहयोग प्रदान गर्दै आएको पनि उनले बताए ।