“आज भोलि”

“आज भोलि”

।१।
नाता र गोता गतिला रहेनन् ।
विश्वास आशा सजिला रहेनन् ।।
बोली र भाषा रसिला रहेनन् ।
बानी र बान्की हँसिला रहेनन् ।।
।२।
पीयूष चोखो जल चिन्न छोडे ।
सौगन्ध फल्ने फल चिन्न छोडे ।।
श्री साधनाको बल चिन्न छोडे ।
मातृत्व झुल्ने स्थल चिन्न छोडे ।।
।३।
को गर्छ मूल्याङ्कन काम देखी ।
भाग्दैछ मान्छे किन राम देखी ।।
को बन्छ सच्चा भन दाम देखी ।
डर्छन् यहाँ मन्दिर धाम देखी ।।
।४।
आस्था टुटेको मन भिन्न हुन्छ ।
पीडा बढेको तन भिन्न हुन्छ ।।
दुष्कर्म धान्ने धन भिन्न हुन्छ ।
निष्ठा भए जीवन भिन्न हुन्छ ।।
।५।
के दिन्छ शोभा दुनियाँ बिगार्दा ।
पाईन्छ् के नै छलछाम गर्दा ।।
दुर्गन्धको रास सदैव भर्दा ।
नाङ्गै हुने अन्तिम प्राण मर्दा ।। 

लेखक : डिल बहादुर महरा