प्रदेश २ का बारा र पर्साका हावाहुरी पीडितहरुका लागि कञ्चनपुरबाट सहयोग स्वरुप ‘राहत र रगत’ संकलन गरिएको छ । मानवीय सहयोग भन्दै पश्चिम नेपाल कञ्चनपुरका विभिन्न समाजिक संघ संस्थाले राहत र रगत संकलन गरेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर उपशाखाले नगद राहत संकलन सुरु गरेको छ । भने एसियन लाईफ इन्स्यारेन्स कम्पनी, लायन्स क्लब अफ महाकाली र जेजिज महेन्द्रनगरले रक्तदान गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर उपशाखाका उप कोषाध्यक्ष मदन बहादुर विष्टका अनुसार महेन्द्रनगर बजारदेखि दुई दिन ४१ हजार, ६ सय ६५ रुपैयाँ संकलन भएको छ । संकलित रकम प्रमुख जिल्ला अधिकारी मार्फत पीडित जिल्लामा पठाइने छ ।
बिहीबार महेन्द्रनगरमा एसियन लाईफ इन्स्यारेन्स कम्पनी, लायन्स क्लब अफ महाकाली र जेजिज महेन्द्रनगरले रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलन गरेको छ ।
एसियन लाईफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाका प्रबन्धक कमलराज जोशीले घाइतेको उपचारका लागि रगत संकलन गरिएको बताए । उनका अनुसार १६ जनाले १६ प्वाईन्ट रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र कञ्चनपुरको प्राविधिक सहयोगमा रगत संकलन गरिएको छ ।