कोदालोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

कोदालोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिका–६, पट्वारीपूर्वाका बुद्धिराम मुराउले कोदालो ९फरुवा० ले हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।

घर नजिकको आलुबारीका काम गर्दागर्दै लोग्ने–स्वास्नीबिचमा सामान्य झगडा भएपछि बुद्धिरामले श्रीमती राधा मुराउलाई फरुवाले हानेका हुन् । फरुवाले हान्ने बित्तिकै श्रीमती ढलेपछि बुद्धिराम फरार भएका छन् । राधाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

आलु खन्न र प्याजमा सिंचाई गर्न मंगलबार लोग्ने–स्वास्नी खेतमा गएका थिए । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले फरार रहेका बुद्धिरामको खोजी भइरहेको बताए । बुद्धिराम भागेर भारततिर गएको आशंका गरिएको छ । ‘हामीले बुद्धिरामलाई खोजिरहेका छौँ’, एसपी पौडेलले भने, ‘पक्राउ पर्छन् ।’

लोग्ने–स्वास्नीको झगडा ‘परालको आगो’ भन्ने गरिन्थ्यो । बाँकेमा लोग्ने–स्वास्नीको सामान्य झगडा भने हत्यामै परिणत भएको छ । पट्वारीपूर्वा नजिककै जंगलीपूर्वा गाउँमा केही महिनाअघि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेर फरार भएका थिए । विदेशबाट आएका लोग्नेले श्रीमतीको चरित्रमा आशंका गरेर हत्या गरेका थिए । कोहलपुरमा श्रीमानले श्रीमतीको हत्या गरे । सधैँ श्रीमतीले किचकिच गर्ने गरेकाले हत्या गरेको अभियुक्त श्रीमानले स्वीकार गरेका थिए । कचनापुरमा भने श्रीमतीले श्रीमानको हत्या गरेकी थिइन् । यो घटनामा मदिरा र दैनिक घरासयी झगडा नै कारण थियो ।

यी पछिल्लो केही वर्षयता जिल्लामा घरेलु झगडा हत्यामा परिणत भएका उदाहरण हुन् । यी घटनाले अब लोग्ने–स्वास्नीको झगडा परालको आगोमा सीमित रहेन भन्ने देखाएको छ । घरेलु हिंसा हत्यामा आएर टुंगिने गरेको छ । जिल्लामा घरेलु हिंसाका उजुरी बढ्दो छ ।