"हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छु"

"हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छु"

टीकापुर ।  कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन्। उनी समस्या पर्दा श्रीमानलाई सबभन्दा पहिले सम्झन्छिन्।  आर्थिक लगायतका समस्या हुँदा उनी श्रीमानसँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्छिन्।

‘समस्या बिनाको जीवन हुँदैन, आर्थिक लगायतका विभिन्न समस्या झेल्नुपर्छ। मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्’, उनी भन्छिन्, ‘आर्थिक समस्या पर्दा श्रीमानसँग सल्लाह गर्छु। अन्य समस्या पनि पर्छन्। तिनको समाधानका लागि अरूलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ।’

जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमानसँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्छिन्। अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्छिन्। ‘हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन्। हामी उनीहरूको सहयोगमा समस्या समाधान गर्छौं’, जुन्नी भन्छिन्, ‘बच्चा बिरामी हुन्छन्, गाइभैंसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन्। यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन।’

मानिसको जीवनमा समस्या आइरहन्छन्। समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन्। खुसीले उमंग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ। समस्याले नै मानिसलाई संघर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ। जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिक रूपमा समेत बलियो बन्छ। 

धेरैजसो महिलाको जीवनमा आर्थिक लगायतका समस्या बढी हुन्छन्। ललिता थारूले समस्या पर्दा सासूलाई सबभन्दा पहिला बाँड्छिन्। अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्छिन् र समस्यामा हिम्मत हार्दिनन्।

‘कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ। म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ’, उनी भन्छिन्, ‘कति कठिन दिन सहनुपरेको छ। समस्या निम्तनेबित्तिकै सासू–बुहारी छलफल गर्छौं, उपाय सोच्छौं र सहयोगी पहिचान गरेर सहयोग लिन्छौं।’

टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासू–ससुरा छन्। घरका सबै समस्या उनीहरूले नै समाधान गर्छन्। घरमा आइपर्ने समस्या उनीहरूलाई कविताले राम्रो साथ दिन्छिन्। ‘आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ’, कविताले भनिन्, ‘समाज सरसापट र सहयोगमा चलेको छ।’

अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासू(ससुरालाई गुहार्छन्। बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन्। समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन्।

कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैं समस्यामा परेकी छन्। ‘सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो। भारतमा कमाउने सुनिताका श्रीमानको रोजगारी गुमेपछि आर्थिक संकटसँगै थप संकट झेल्नुपर्‍यो। 

‘गत वर्ष निकै कठिन समय चल्यो। कोरोना महामारीले ठूलो मर्का पर्‍यो। श्रीमानको कमाइ नभएपछि घर चलाउन धौधौ भयो’, उनले भनिन्, ‘त्यसैमाथि सासू र मलाई कोभिड संक्रमण भयो। अभाव र रोगले च्यापेपछि मलाई तनाव भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए।’

लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेकी छन्। समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिक रूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउँछन्।

‘समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ’, उनी भन्छन्, ‘समस्याका कारण तनावमा बस्नु हुँदैन। एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरूलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ। समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ।’