अनि डा. केसीको घाँटी अवरुद्ध भयो, आखाँमा आसुँ छचल्किए

अनि डा. केसीको घाँटी अवरुद्ध भयो, आखाँमा आसुँ छचल्किए


काठमाडौंको बानेश्वर जस्तै हो, धनगढीको एलएन चोक । अर्थात ‘हार्ट अफ द सिटी’ । 

यस क्षेत्रको पवित्र धार्मिकस्थल लक्ष्मीनारायण मन्दिर छेउमै भएकाले चोक नाम मन्दिरकै नामको छोटो रुपबाट एलएन चोक रहन गयो । 

त्यही लक्ष्मीनारायण मन्दिरसँगै जोडिएको छ, कृष्णमन्दिर । कृष्णमन्दिरकै प्रांगणमा रहेको धर्मशालाबाट चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारबाट आफ्नो २० औं सत्याग्रह सुरु गरेका छन् ।

सोमबार बिहान धनगढी पुगेका केसीका यसपटक कुनै नयाँ माग छैनन । विगत १९ वटा अनसनमा सरकारले पूरा गर्छु भनेर गरेका सम्झौता कार्यान्वयन गरिदियोस्, प्रधानमन्त्री देउवाको गृहप्रदेश आएर केसीले उठाएको यही एक माग हो । 

केसी एक्कासी अनसन पनि बसेका होइनन् । प्रधानमन्त्रीमा देउवा नियुक्त हुँदा नै भेटेर केसीले सम्झौता कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए । देउवाले सम्झौता कार्यान्वयन गर्ने आश्वासन पनि दिए । एकदुई माग सम्बोधन पनि गरे । तर बाँकी माग ज्यूँ का त्यूँ रहे । 

केसीले बारम्बार बहालवाला मन्त्री, सचिवलाई पनि सम्झौता कार्यान्वयनका लागि घच्घचाई रहे । कसैले टेरपुच्छर नलगाएपनि पुनः अनसनमा बस्ने घोषणा गरे । सरकारले केही समय माग्यो, केसीले ३ हप्ताको समय दिए । तर त्यो समयमा पनि माग कार्यान्वयन त कता हो कता, रेस्पोन्स पनि नभएपछि केसी अनसनमा उत्रिन बाध्य भए । 

‘जनताको स्वास्थ रहेर बाच्न पाउने अधिकारका लागि, न्यूनवर्गका बिद्यार्थीले पनि मेडिकल शिक्षा पाउन भन्नका लागि र सुशासनका लागि हामी लडिरहेका छौं,’ डा. केसीले भन्छन्, ‘यो त सरकारले गर्नुपर्ने विषय हो । काठमाडौं बसेर वा अरु ठाउँमा बसेर सरकारले नसुनेपछि प्रधानमन्त्री कै गृहप्रदेशमा आएपछि सुन्न बाध्य हुन्छन कि भनेर यहाँ आएको हुँ ।’

प्राडा केसी सुदूरपश्चिम पहिलोपल्ट आएका भने होइनन् । स्वास्थ्य उपचारका क्रममा उनी देशका ७७ वटै जिल्ला घुमिरसकेका छन् । कुनै ठाउँमा मानविय विपत्ती भयो वा दैविप्रकोप आयो भने केसी सुटुक्क त्यहाँ पुगि मानविय सेवामा खटिरहेका भेटिन्छन् । २७–२८ वर्षपहिले पहिलोपल्ट केसीले सुदूरपश्चिमको भूमि छोएका थिए । 

‘म सबैभन्दा कम पुगेको हुम्ला हो । त्यहाँपनि चारपटक पुगेको छु । सुदूरपश्चिममा त कतिपटक पुगे सम्झना पनि छैन,’ डा केसी भन्छन् । 

अनि भक्कानिए डा. केसी
६६ वर्षीय वृद्ध शरिर, यसअघि १९ पटक अनसन बस्दा चारपटक मृत्युको नजिकबाट फर्किनुभएको, धनगढीको उखरमाउलो गर्मी, मच्छर, डेंगु र कोरोनाको प्रकोपको सन्दर्भ जोड्दै मैले सोधे, ‘जोखिम त एकदमै छ नी डा. साप?’

‘उमेरले बुढो भएपनि आत्मबल अझै छ । मेरो मृत्यु नै भयो भने पनि मेरा अंगहरु नै फेल भए भनेपनि मलाई केही छैन । एकजनाको ज्यान ठूलो होइन । तीन करोड नेपालीको स्वास्थ्य ठूलो कुरो हो,’ डा केसीले एकै श्वासमा उत्तर दिँदा माहौल शान्त बन्यो । 

अनसन बस्न आउँनुअघि केसीले आफ्नो रगत, दिशापिसाब र शरिरको जाँचहरु गराएका थिए । विगतको अनसनका असर र वृद्ध उमेरका कारण स्वास्थ्यमा समस्या देखिएका थिए । डाक्टरले आराम गर्न र औषधि खान सुझाव दिएका थिए । तर केसीलाई आफ्नो ज्यानभन्दा जनताको स्वास्थ्यले चिन्तित बनायो र धनगढीको फ्लाइट पक्रिए । 

‘म ७७ वटै जिल्लाका हेल्थपोस्ट देखि अस्पतालसम्म सबै घुमेको छु । जिल्ला अस्पतालभन्दा माथिको अस्पतालमा अस्पताल फ्रीमा औषधि व्यवस्था गरिएको छ । जिल्लामा ७०, स्वास्थ्यकेन्द्रमा ५०, हेल्थपोस्टमा ३५ प्रकारको औषधि निशुल्क पाइने कानुनमा उल्लेख छ,’ डा. केसीले थपे, ‘तर कुनैपनि ठाउँमा एक डेढ दर्जनभन्दा बढी औषधि उपलब्ध छैन । सरकारीपनि रगत, एक्सरे जाँचेको नीजीजस्तै पैसा असुल्छन् अनि गरिब मान्छेले कसरी उपचार गर्न सक्छ? तर शीर्षस्थ नेताहरु तीनै गरिबले तिरेको पैसाबाट महँगो उपचार गर्न विदेश गईरहेका छन्, जसको करबाट तलबभत्ता खायो, उनीहरु चाँही मर्ने? उनीहरुको बाच्ने अधिकार छैन ।’

यति बोल्दाबेल्दै केसीका आँखा रसाउँदै आखाँबाट आशुँ छचल्किए । गला अबरुद्ध भयो । अगाडिपट्टी तेर्सिएका क्यामराबाट अनुहार हटाउँदै एकातिर फर्किएर रुन लागे । वरिपरि पत्रकारले घेरिएको माहौल भावुक बन्यो । कसैले पानी छैन? भनेर केसीलाई पानी दिन आग्रह गर्यो तर तत्काल पानीको व्यवस्था समेत हुन सकेन । उनी फेरि सम्हालिएर प्रश्नको जवाफ दिन थाले । 

‘अनसन बसेका बेला पानीमात्रै पिउनुहुन्छ कि अरु पनि?’ उनीमाथि प्रश्न तेर्सियो ।

‘मेरो कोठामा सीसीटिभी राखिदिनुस । शीर्ष नेताका सेनाले हेर्न पाउँन । म नैतिकतालाई ठूलो मान्छु । सत्याग्रहको गरिमालाई अलिकति पनि कम हुने काम गरेको छैन,’ केसीले जवाफ फर्काए । 

धनगढी उपमहानगरपालिका, कैलाली क्षेत्रनम्बर ५ मा पर्छ । आगामी मंसिर ४ गते घोषणा भएको आम निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस नेतृ आर्जु राणा देउवालाई सिफारिस गरिसकेको छ । अघिल्लोपटक पनि यसै क्षेत्रबाट चुनाव लडेकी राणाले यसपल्टपनि यसै क्षेत्रबाट चुनाव लड्ने संकेत गरिसकेकी छिन् । 

के आर्जु उठ्ने तयारी गरिरहेका बेला केसीले धनगढी नै अनसनका लागि रोजेका हुन् त?

‘यहाँबाट आर्जु उठ्दैछिन् भन्ने मलाई पहिलोपल्ट थाहा हुँदैछ,’ डा. केसीले भने, ‘सुदूरपश्चिममा आएर अनसन बसेको म पहिलोपल्ट होइन नी । यसअघि देउवाकै गृहजिल्ला डडेल्धुरमा पनि अनसन बसेको थिए । जुम्ला, इलाम, काठमाडौंमा पनि बसे । कसैले जनता भड्काउनका आयो भन्छ भने भनुन तर देउवा जीकै पालामा हामी बारबार यही माग लिएर लडिरहेका छौं । सुनुवाई नहुने, रेस्पोन्स पनि नगर्ने । रेसोन्स गरेको भए कुराकानी हुनसक्थ्यो । कुराकानी हुँदा समाधान निस्कनसक्थ्यो ।’

डा केसीलाई यसपल्ट अनसनका लागि धनगढी ल्याउने अर्को कारण छ, गेटा मेडिकल कलेज । धनगढी चौराहाबाट १० किलोमिटर उत्तरतर्फ ६ लेनको बाटोमा अघि बढ्दा पूर्वतर्फ सेतो र खैरो रङ पोतिएका आकर्षक प्रस्तावित गेटा मेडिकल कलेजका भवनहरु डेढ वर्षअघि नै तयार भईसकेका हुन् । 

तर, मेडिकल कलेज सञ्चालनको भने सरकारको कुनै सुरसार छैन। विश्वविद्यालय वा प्रतिष्ठानको रुपमा अगाडि जाने भन्ने विषय नै टुंग्गो लागेको छैन । 

‘यूनिर्भसिटी वा प्रतिष्ठानको ढाँचा त प्रधानमन्त्रीले तुरुन्त निर्णय गर्न सक्छन नी । त्यो नी नगरि बरु नीजी मेडिकल कलेज खोल्न तम्सिरहेका छन्,’ केसीले भने । 

जनताकै स्वास्थ्यका आफ्नो ज्यानको जोखिममा राखिरहेका केसीको आम जनतासँग अपेक्षा के छ त?

‘म सम्झौता कार्यान्वयन गर भनेर लडिरहेको छु  । पब्लिकसँग मेरो कुनै अपेक्षा छैन । उहाँहरुको बह्मले जे ठिक ठान्छ त्यो गर्नुहोला,’ केसीले टुंग्गाए । 

यस्ता छन् डा केसीमा मागहरुः
१) स्वास्थ्य सेवामा सुधारका लागिः

 तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।  

जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।  

संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

सरकारले तोकेको सुची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस्। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस्।

 २. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस्। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्। विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्। यस अगाडि हामीसित सम्झौता भए बमभोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।

३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।

४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरु तत्काल सच्याइयोस्। प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गरियोस्।

५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर–नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिंङ  कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको संशोधन प्रयास तत्काल बन्द गरियोस्।

६. चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हुँदै आएको हस्तक्षेप रोकी तत्काल कर्मचारी नियुक्तिका लागि सांगठनिक संरचना मन्त्रीपरिषद्बाट पारित गरियोस्। निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि सरकारले दिने गरेको बजेट रोकिएकोमा तत्काल सुचारु गर्दै सो बजेट चिकित्सा शिक्षा आयोगमार्फत सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा पठाउने व्यवस्था गरियोस्।

७.जलवायु परिवर्तनको मार र खनिज ऊर्जा निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रयोग र विस्तार गर्ने व्यवस्था गरियोस्।