कैलालीको सुखडमा ४५ दिने निस्शुल्क ब्युटीपार्लर तालिम सुरु

कैलालीको सुखडमा ४५ दिने निस्शुल्क ब्युटीपार्लर तालिम सुरु

विशाल पाण्डेय,  कैलाली : एन.आर.एन.वुमन फोरम (स्विजरल्याण्ड) को सहयोगमा कैलालीको सुखडमा ४५ दिने निस्शुल्क ब्युटीपार्लर तालिम शुरु भएको छ । 

मंगलबार स्थानीय कार्यक्रम संयोजक प्रकाश मिश्रको सभापत्तित्वमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले तालिम लिएर सीप सिकेका ब्यक्तिहरूलाई व्यवसायी तर्फ उन्मुख गराउनको लागि घोडाघोडी नगरपालिकाले रकम उपलब्ध गराउने बताउनु भएको छ ।

पछिल्ला दिनमा पनि विभिन्न तालिमहरु लिएर सीप सिकेपनी आर्थिक स्थितिका कारण व्यवसाय नै सुरु नगरी घरमै बसिरनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि आगामी आर्थिक बर्षमा बजेट छुट्याउन छलफल गरि सम्पूर्णलाई ब्यावसायिकरणमा लैजानु पर्ने बताउनु भयो । चौधरीले  सीप सिकेर व्यवसाय गर्ने इच्छुक ब्यक्तिहरुलाई बिना ब्याज किस्ता किस्तामा फिर्ता हुने गरि रकम उपलब्ध गराउने बताउनु भयो । साथै उहाँले सीप नभएको मानिसलाई जीवन स्तर उकास्न गाह्रो हुने हुँदा तालिममा नियमित रुपमा सहभागीता जनाइ दक्ष हुन आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक प्रकाश मिश्रले स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन एन आर एन वुमन फोरम ९स्विजरल्याण्ड० ले आयोजना गरेको कार्यक्रममा विभिन्न सहयोगी दाताहरुबाट उठेको सहयोग रकमले उक्त तालिमको आयोजना गरिएको बताउनु भयो ।

संयोजक मिश्रले यस कार्यक्रमका लागि अहोरात्र खटिने एन आर एन वुमन फोरम स्विजरल्याण्डकि संयोजक शुभा इल्मार लामा, सुनम पन्त र सम्पुर्ण सहयोगी दाताहरुलाइ धन्यवाद दिनु भएको थियो । त्यस्तै एन आर एन वुमन फोरम कि आइ सि सि कोर्डिनेटर रजनि प्रधानले तालिम लिइसकेपछी ब्यवसाय संचालनका लागि महिलाहरुलाइ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको समेत संयोजक मिश्रले बताउनु भयो ।

कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मनराज शाही, बिद्यालय निरिक्षक उमेश राज रेग्मी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य, पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशकी महिला उपाध्यक्ष चादनी आचार्य, घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका सचिव हेम बहादुर बम, घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सहभागीलाई तालिमबाट सिकेको कुराहरु ब्यवहारमा लागु गर्न आग्रह गर्दै यस्ता सीप मुलक तालिमहरुले महिला हिंसा न्युनीकरणमा समेत महत्वपुर्ण भुमिका खेल्ने कुरामा जोड दिएका छन ।

आफुहरुले तालीम पाउने भएपछी निकै खुशी लागेको र तालीमबाट सीकेको कुरालाई ब्यवहारमा लागु गर्दै आफनो आर्यआर्जमा सहजता तुल्याउने सहभागीहरुले प्रतिक्रिया दिएका छन । तालिममा अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका १० जना महिलाहरुको सहभागीता रहेको छ ।