टीकापुरको कैलाशेश्वर शिव मन्दिर जीर्ण बन्दै

टीकापुरको कैलाशेश्वर शिव मन्दिर जीर्ण बन्दै

टीकापुर ।  कैलालीको टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर जीर्ण अवस्थामा छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शिव मन्दिर समय समयमा मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो ।

कैलाशेश्वर शिव मन्दिर २०४३ सालमा स्थापना भएको हो । दशकौँअघि बनेको मूल मन्दिर, यज्ञकुण्ड र आवासगृह जीर्ण छन । यी संरचना पुनःनिर्माणका लागि लगानी आवश्यक छ । कैलाशेश्वर मन्दिरमा साना–ठूला गरी विभिन्न देवी–देवताका ११ मन्दिर छन । एउटा आवास र यज्ञकुण्ड छ । यी सबै संरचना वर्षौँअघि बनेका हुन ।

यतिखेर मन्दिर भक्तजनको भेटीबाट चलिरहेको व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले बताए । भक्तजनको भेटीबाट उठेको रकमले मन्दिर संरक्षण, मर्मत, गुरुकूल सञ्चालनलगायत काम भइरहेका छन । मन्दिर व्यवस्थापन समितिले डेढ वर्षमा रु १० लाख आम्दानी भएको जनाएको छ । मन्दिरको आम्दानीबाट व्यवस्थापन समितिले निर्माण, जीर्ण रहेका संरचना मर्मत, पानीका धारा जडान, रङरोगन, अतिथि व्यवस्थापन, पानी र बिजुलीको बिल खर्च, भोजनालय निर्माण, विद्यार्थीका लागि आवास तथा कक्षाकोठा निर्माणमा खर्च गरेको छ ।

मन्दिरले यसै शैक्षिकसत्रबाट कैलाशेश्वर वेद विद्या आश्रमसमेत सञ्चालनमा ल्याएको तिमिल्सिनाले जानकारी दिए । विद्या आश्रममा हाल ११ विद्यार्थी अध्ययनरत छन । आश्रममा एक जना नियमित वार्डेन मासिक तलबमा राखिएको छ भने बाँकी शिक्षकको व्यवस्था विषयगत शिक्षकले निःशुल्क दिने व्यवस्था मिलाइएको तिमिल्सिनाले बताए । ‘मुख्य मन्दिर जीर्ण छ ।

यज्ञशाला, आवास भवनसमेत जीर्ण रहेकाले तत्काल पुनःनिर्माण आवश्यक छ । यहाँ वर्षभरि पाँच सय जनासम्म साधुसन्त अतिथिका रूपमा आउने भएकाले धर्मशाला आवश्यक छ’, उनी भन्छन, ‘नेपाल र भारतबाट आउने साधुसन्तलाई भवन अभाव छ, बरण्डामै बस्नपर्ने बाध्यता छ । उनीहरूका लागि खानपानको व्यवस्था गर्नसमेत समस्या भएको छ ।’ मन्दिरको अगाडिको क्षेत्रमा पर्खाल निर्माण भएको छ । नदी क्षेत्रमा खुला रहेकाले घेरबार तथा पर्खाल आवश्यक छ । गत वर्ष मन्दिर परिसरमा रोपिएका डेढ सय बहुमूल्य बिरुवा छाडा पशुले नष्ट गरिदिएका उनको गुनासो छ ।

मन्दिरमा लगानी गरेमो मन्दिरबाट हुने आम्दानीले सिर्जनात्मक र थप अन्य विकास निर्माण गर्न सकिने अध्यक्ष तिमिल्सिनाले बताएमन्दिर संरक्षणका लागि टीकापुर नगरपालिकाले गुरुयोजना निर्माण गरेको छ तर कार्यान्वयन भएको छैन । गत वर्ष मन्दिरमा संरचना निर्माणका लागि नगरपालिकाले रु ३० लाख विनियोजन गरेको थियो तर खर्च गर्न सकेन । वर्षभरि हजारौँ दर्शनार्थीले पूजाआजा र दर्शन गर्ने कैलाशेश्वर मन्दिर संरक्षणको दायित्व नगरपालिकाले लिनुपर्ने स्थानीयको माग छ ।

‘मन्दिर व्यवस्थापन समितिले प्रतिव्यक्ति रु ५० हजार रकम सङ्कलन गरेर मन्दिर संरक्षण थालेको छ । समितिले सिर्जनात्मक समय मन्दिरलाई दिएको छ’, स्थानीय रुपा देवकोटाले भने । मन्दिर धार्मिक केन्द्रका रूपमा रहेकाले यसको विकास सँगसँगै टीकापुरको समेत विकास हुने देखिन्छ । टीकापुरको कैलाशेश्वर र सत्तीको पद्मप्रकाशेश्वर यहाँका पहिचान हुन ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले नगरपालिकाले शिव मन्दिर र पदप्रकाशेश्वर मन्दिरलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘गुरुयोजना बनिसकेको छ । त्यसैअनुरुप विकास गर्छौँ’, उनले भने । मन्दिरका नाममा दुई बिघा दुई कठ्ठा जमिन छ । नगरपालिकाले गत वर्षदेखि पूजा खर्चका लागि मन्दिरलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ ।