महाकालीमा पुल बनेपछि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

महाकालीमा पुल बनेपछि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ। भीमदत्त नगरपालिका–१२ महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो। वि.सं.२०७४ मा निर्माण शुरू गरिएको पुलको काम सम्पन्न भइसकेको छ भने पुलसँगै पहुँचमार्ग पनि निर्माणधीन छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् ।

यसअघि पैदलयात्रु र दुईपांग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुंगे पुलबाट हुने गरे पनि चारपांग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । ‘हामीलाई सरसामान ल्याउन धेरै समस्या हुन्थ्यो, शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौं कुर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो, महेन्द्रनगर जान चारपांग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।’

दोधारा९चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको १ हजार ४९५ मिटर लामो झोलुंगे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपांग्रे सवारी साधनले महाकाली तर्न यही झोलुंगे बनेपछि मात्र सम्भव भएको थियो । “शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भने, ‘अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।’
महाकाली पारिको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजारभन्दा बढी जनसंख्या छ । ‘महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गनुपर्ने बाध्यता हटेको छ,’ दोधारा चाँदनीवासी आकृति कसेराले भनिन्, ‘अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन, महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।’ उनले यसअघि महेन्द्रनगरबाट सरसामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताइन् ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए । ‘अहिले पुलबाट अस्थायी रूपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ,’ उनले भने, ‘पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाँकी छ ।’ उनका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र २३ दशमलव ८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । दोधारा चाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिम चरणमा रहेको उनले बताए । पुलसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।