म महासचिव भएपछि उन्मुक्ति पार्टी थारुको मात्रै रहेन् : रतन थापा (अन्तर्वार्ता)

म महासचिव भएपछि उन्मुक्ति पार्टी थारुको मात्रै रहेन् : रतन थापा (अन्तर्वार्ता)

कारबाहीमा पर्दै नेकपा एमालेको कैलाली जिल्ला अध्यक्षबाट निस्कासनमा परेका रतन थापा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी महासचिवको हैसियतसहित प्रवेश गरेका थापा सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत हुन् । 

उनलाई गत असारमा नेकपा एमाले सुदूरपश्चिम प्रादेशिक कमिटीले कैलाली अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै थापामाथि उक्त कारबाही गरिएको हो । 

दुई दशक एमालेको राजनीति गरेर उन्मुक्ति पार्टी प्रवेश गरेका थापासँग धनगढी खबरका लागि यज्ञराज जोशीले गरेको संक्षिप्त कुराकानी-

नागरिक उन्मुक्ति पार्टी नै किन रोज्नुभयो?
लामो समय मैले एमालेमा रही राजनीति गरे । अहिले पार्टीले नै बिदाई(निष्कासित) गरेपछि म नागरिक उन्मुक्ति पार्टीमा गए । मलाई बिना आधार र लाञ्छना लगाएर पार्टीबाट निष्कासन गरेको हो । मलाई सफाई गर्ने मौका समेत दिएन । 
अर्को कुरा जुन ठूलो पार्टी भन्छन् आफूहरु तिनीहरु सिद्धान्तहीन र दिशाहीन देखिए ।

हिजो माओवादी र कांग्रेसका कारणद्वन्द्व हुँदा १७ हजार मान्छे मरे । माओवादीले जंगल आतंक गर्यो र कांग्रेसले राज्य आतंक गरेर दुबैतर्फबाट ती मानिस मारिएका थिए । अहिले तिनीहरु नै मिले । तिनीहरुको गन्तव्य के हो, निश्चित छैन? यता, हिजो राजालाई फालेर गणतन्त्र ल्यायौं भन्ने केपी ओली अहिले त्यही राजालाई मान्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर गठबन्धन गर्दैछन् । अहिलेका नेताहरुको नाममात्र राजा राखिएन तर राजाभन्दा कम पोजिसन, काम उनीहरुको छैन । माला, रातो कार्पेटको केही कम छैन । 

मलाई पनि पार्टीले भाग भनेको हो । म उनीहरुलाई ढोग्न गएन । नयाँ पार्टी बनाएर, राष्ट्रिय पार्टी बनाउँदै एकताबद्ध, स्वच्छ पार्टी बनाउँन उदेश्य सहित म यो पार्टीमा गएको हुँ । 
जीवनमा एमालेबाट अरुतिर जाउँला भन्ने सोचेको थिएन । तर दुई महिनाअघि( कारबाहीमा परेपछि) यो पार्टी(नागरिक)लाई सहयोग गरौंला भन्ने प्रतिबद्धता जनाएको थिए । किनभने थारु, चौधरीहरूले नै मलाई भोट दिएर माननीय(प्रदेश) बनाएको हो । यो पाली मैले सहयोग गरिदिनुपर्छ भन्ने थियो । रेशम चौधरी ज्यूको भनाई के आयो भने सहयोगले पुगेन तपाईलाई जिम्मेवारी दिन्छु भन्नुभयो । कसैको दयामाया चाहिएन, हामी कसैको कृपामा बस्न चाहान्न तर तपाईहरुको साथ, सहयोग चाहियो भनेपछि म यो पार्टीमा हिडेको हुँ ।

स्थानीय निकायमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा राम्रो गरेको देखेपछि अवसरवादी हुँदै यही पार्टी रोज्नुभएको त होइन?
राम्रो भएर नै गएको हो । राम्रो भयो, जनताले मन परायो भनेर यो पार्टीमा लागेको हुँ । सबै अवसरवादी नै हुन्छन् । कस्तो खालको अवसर लिने भन्नेमात्रै हो । अपराधिक अवसर लिने कि, व्यक्तिवादी अवसर लिने कि? मलाई अवसरवादी भन्ने हो भने दीर्घ सोडाकी (एकिकृत समाजवादी)ले मन्त्री दिउँ ला भनेको थियो । मन्त्रिमण्डलमा राख्छु भनेको थियो । गठबन्धनबाट पनि टिकट दिन्छु भनेको थियो । मेरो लागि त गठबन्धनमा गएको भए चुनाव जित्न सहज हुन्थ्यो । त्यसो गर्न मैले चाहिन । तर मैले अवसरभन्दा पनि आन्दोलनलाई रोजे । 

पार्टीको महासचिवको जिम्मेवारी पनि पाउनुभएको छ, साम्प्रदायिक पार्टीबाट माथि उठाएर सद्भाव फैलाउने दिशामा तपाईको भूमिका कस्तो रहन्छ?
महासचिवको पद मागेको कारण पनि त्यही हो । धेरै मान्छेले साम्प्रदायिक पार्टी भने । म आफै महासचिव भएपछि यो साम्प्रदायिक पार्टी नहेर् । सद्भाव कायम गर्नका लागि म महासचिव भएको हुँ । पार्टी कुनैपनि जातीको हुँदैन । कुनै जातीको व्यक्तिले नेतृत्व लानसक्छ । कम्युनिष्ट पार्टी स्थापना गर्दा ५ जना सबै नेवार थिए अहिले नेवारको पार्टी रहेन । यो पार्टीको सुरुवात पनि थारु समुदायको रेशम चौधरीबाट अगुवाई भयो । महिलाले नेतृत्व गरिरहनुभएको छ । विधान अनुरुप सबै यसमा अटाउँछन् । साम्प्रदायिक अन्त्य गर्ने र सद्भाव कायम गर्ने मेरो मुख्य उदेश्य हुनेछ । 

अर्को मुख्य उदेश्य वा भूमिका जेलमा रहेका रेशम चौधरीलाई जेलमुक्त गराउँनु पनि होला हैन?
त्यो त मुख्य उदेश्य हो । धेरै मान्छेहरु पञ्चायतमा लड्दा राजद्रोही भनेर जेल हालेको थियो । पञ्चायत गएपछि यी सबैभन्दा सम्मानित भए । रेशम चौधरीलाई ३४ हजार मानिसले यो दोषी होइन भनेर भोट हालेको छ । त्यो पनि त मान्नुपर्यो । प्रजातन्त्रमा न्यायाधीशको मात्रै नभई जनताको फैसला पनि मान्नुपर्छ । अब लाखौं मान्छेले भोट हालेर समर्थन गर्नेछन् । सरकार पनि छोड्न बाध्य हुनेछ ।