गोपाल हमालले निराश नबनाएको सय दिन

गोपाल हमालले निराश नबनाएको सय दिन

गत जेठ ९ गते पदभार ग्रहण गरेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो १०० दिने ‘हनिमुन पिरियड’ मंगलबार पूरा गरे ।

सय दिने कार्यकाल औसत रहे पनि उनको कार्य प्रगतिबाट जनता भने निराश बनेनन् । यस अवधिमा उनका दुई मुख्य कामले चर्चा पाए । 

एक, १९ वटै वडामा उनले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सुरु गरे । जसबाट गाउँ गाउँमा भएका नागरिकहरूले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेका छन् । दुईजना  विशेषज्ञ चिकित्सकका लागि आवश्यक पर्ने स्रोत पनि उनले बाहिरबाट व्यवस्थित गरे ।

मंगलबारसम्म फिजिसियनबाट ३ हजार ९९६ जना र प्रसुती तथा स्त्रीरोग विशेषज्ञबाट १ एकहजार ७७८ जना धनगढीबासीले सेवा पाइसकेका छन् । त्यसबाहेक ५४९ जनाले आँखासम्बन्धि, १५२ जनाले दाँतसम्बन्धि सेवा भएका छन् ।आँखा, दाँत तथा मुख स्वास्थ्य सेवा  यही भाद्र ८ बाट थपिएको हो । 

नगरपालिकाले सञ्चालन गरेको क्लिनिकमा प्रयोगशाला, इ.सि.जी र भिडियो एक्सरे सेवाहरु समेत समावेश गरिएका छन् ।आगामी दिनमा नीजी अस्पतालहरुसंगको समन्वय र सहकार्यमा अन्य विशेषज्ञ सेवाहरू पनि थपिदै लगिने हमालले बताएका छन् । नीजी अस्पतालहरुसँग उक्त विषयमा समझदारी पनि भइसकेको छ ।

हमालको यस १०० दिने अवधिकको दोस्रो उपलब्धिका रुपमा धनगढी डुबानको समस्या समाधान केही हद कम गर्न सफल भएकालाई मान्न सकिन्छ । अतिक्रमित खोलानाला खाली गराउन तथा नाली सफाइ र व्यवस्थित गर्दा मुलबजार नै डुबानमा पर्ने समस्याबाट केही राहत पाएको अनुभव धनगढीवासीले गरेका छन् ।

हमालले सार्वजनिक खोला नालामा भैरहेको अतिक्रमण हटाउने कार्य असार १ गतेबाट सुरु गरेका थिए । सोक्रममा उनले अतिक्रमण गरेकाहरुको संरचना नै भत्काउँनुपर्यो, कतिबाट विरोध पनि खप्नुपर्‍यो । 

'पार्कमोडमा क्षेत्रमा वर्षौं देखि नाली सफा नभएर पानी निकास बन्द रहेछ । हामीले नाली सफा गर्दा त्यहाँ थौरै पानी पर्दा पनि रोडमा पानी जम्मा हुनेक्रम रोकिएको छ,' नगरप्रमुख मेयर आफ्नो उपलब्धि बताउँदै भन्छन् ।

त्यसबाहेक कार्यपालिका बैठकलाई प्रत्यक्ष प्रसारण गराउँदै उनले पारदर्शिताको अभ्यास गराए । भ्रष्ट्राचार गर्दिन र हुन दिन्न भनी बेहडाबाबा मन्दिरमा गई खाएको कसमलाई रक्षा गर्दै अपारदर्शिताको प्रश्न आफूमाथि उठ्न दिएनन् । सुशासनको अभ्यास गराउँन उनले आफ्नो व्हाट्सअप नम्बर नै सार्वजनिक गरेका थिए । 

उनले घोषणापत्रमा भनेबमोजिम सरकारी गाडी तथा सुविधा लिएनन् । मेयर चढ्ने सरकारी गाडी स्वास्थ्य शिविरका लागि प्रयोगमा ल्याए । 

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियानमा उनले धनगढीवासीलाई जोड्दै नगर विकासमा सबैलाई अपनत्व महसुस गराइरहेका छन् । यस अभियानमा दैनिक यहाँका व्यवसायी, उद्योगी तथा संस्थाहरू जोडिँदै गएका छन् । 

यस्तै योजनाबद्ध व्यवस्थित विकासका लागि धनगढी उप-महानगरपालिकाले पहिलोपटक ५ वर्षे आवधिक योजना निर्माणको कार्य अगाडि बढाइएको छ । 

‘सय दिनमा यति काम गर्नु धेरै हो । राम्रो गरेका बेलामा हामीले राम्रो भन्नुपर्छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘उहाँले चुनावको बेला बोलेका बाचाहरू  पूरा गर्दै आउनु भएको छ । अहिलेसम्म उहाँप्रति जनता निराश छैनन् ।’

यहीबिच कार्यपालिकाकै प्रत्यक्ष प्रसारणमै उपमेयर कन्दकला रानासँगको आरोप प्रत्यारोपका कारण उनको पक्ष विपक्षमा मानिसहरू बाँडिए ।

जिल्ला समन्वयन समितिको निर्वाचनमा काँग्रेसलाई साथ दिएपछि उनको ‘स्वतन्त्र’ अस्तित्वमाथि नै प्रश्न उठ्यो । उनीमाथि एकलौटी रूपमा काम गरेको र सबैलाई मिलाएर लैजाने नसकेको आरोप लाग्छ । जिससमा साथ दिएकै बदला काँग्रेसका सदस्यहरूबाट उनले कार्यपालिकामा साथ पाउँदै आएका छन् । सोही कारण एमाले र अन्य दलका जनप्रतिनिधिले आफूहरू पेलानमा पर्दै आएको महसुस गरेका छन् ।

मेयर पदका प्रतिस्पर्धी एमालेका रणबहादुर चन्द हमालले स्वतन्त्र छवि राख्न नसकेको र छलफल र परामर्शबिनै अघि बढेको आरोप लगाउँछन् ।

‘उहाँ स्वतन्त्र भनेर भोट माग्दै विजयी हुनुभयो तर जिससको निर्वाचन होस् या कार्यपालिकाको बैठक, काँग्रेसको कार्यकर्ताको रूपमा प्रस्तुत भएको देखियो,’ चन्दले धनगढी खबरसँग भने, ‘निर्णय प्रक्रिया वा घटनाक्रमहरू जे भइरहेका छन् त्यसले उहाँले काँग्रेसलाई नै सहयोग गरेर काँग्रेस लाई नै बलियो बनाउने गरी अगाडि बढेको देखिन्छ । यो नगर बासीको मतको अपमान हो भन्ने मलाई लाग्छ ।’

कार्यपालिका बैठकमै आरोप प्रत्यारोपमा उत्रिएकी एमालेबाट निर्वाचित उपमेयर कन्दकला राना भने अहिले मेयर हमाल सहकार्य र समन्वयन गरेर अघि बढिरहेको अनुभव सुनाउँछिन् ।

‘मेयर सापसँग सुरुमा जे भयो अब छोडौँ । अब यस्ता कुरा नदोहोरिउन्,’ उनले भनिन्, ‘अहिले सबै काम समन्वय, सहकार्यमा नै गर्दैछौं । अबको चार वर्षमा अझै राम्रो गर्ने  भनेर लागेका छौँ ।’